काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजमले आज भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्दैछ । कम्पनीले आम लगानीकर्ताका लागि कुल ४३ लाख ४१ हजार ८० कित्ता सेयर जारी गरेको हो। दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि आइपीओ ल्याउन लागेको हो। साउनको पहिलो साता आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई कम्पनीले आइपीओ बिक्री गरेको थियो।
लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट वा ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन दिन सकिनेछ।
कम्पनीका अनुसार आईपीओमा आवेदन दिने अन्तिम मिति छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गतेसम्म तोकिएको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले पाएको छ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरिसकेको छ।
कम्पनीलाई धितोपत्र बोर्डले कुल ५८ लाख ६० हजार कित्ता सेयर निष्कासनको लागि अनुमति दिएको थियो। जसअन्तर्गत आयोजना प्रभावित क्षेत्रका लागि ५ लाख ८६ हजार ५ सय कित्ता र विदेशमा रहेका नेपाली श्रमिकका लागि ५ लाख २९ हजार ४०० कित्ता सेयर छुट्याइएको थियो।