विद्युतीय प्रणालीमार्फत विदेशी पर्यटकको दर्ता तथा अनुगमन कार्य हुने

Nepal Cover
१७ भाद्र २०८२, मंगलवार
image

काठमाडौ । अध्यागमन विभागले ‘भिजिट भिसा’मा आउने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको छ । विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्रयाकिङ) प्रणाली लागू गर्नेसम्बन्धी सूचना आज जारी गरेको हो । विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले नयाँ प्रणालीको विकास गरिएको विभागले जानकारी दिए ।

अध्यागमन ऐन, २०४९ र नियमावली, २०५१ अनुसार नेपालभित्र विदेशी नागरिकको प्रवेश, उपस्थिति र प्रस्थान नियमन गर्ने कार्यलाई व्यवस्थित बनाउन विभागले उक्त प्रणाली विकास गरेको हो। यस प्रणालीमार्फत नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास र गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राख्न सकिने, आपतकालीन अवस्थामा खोज, उद्धार र सुरक्षामा सहज हुने, साथै सुरक्षा निकाय, पर्यटन व्यवसायी र सरोकारवाला निकायबीच सूचना आदानप्रदान प्रभावकारी भई पर्यटन क्षेत्रको सुरक्षित विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ।

विभागका निर्देशक एवम् प्रवक्ता टीकाराम ढकालले भने, “यस प्रणालीलाई पहिलो चरणमा २०८२ साल असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरुमा अनिवार्य रुपमा लागू गरिनेछ। दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, विमान सेवा कम्पनी, यात्रा तथा भ्रमण व्यवसाय गर्ने कम्पनी, मनि एक्सचेञ्ज गर्ने निकायमा, र त्यसपछि क्रमशस् सबै होटल, गेष्ट हाउस तथा अन्य सार्वजनिक र निजी संस्थाबाट प्रदान हुने सेवामा लागू गरिनेछ।”

प्रवक्ता ढकालका अनुसार विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक तथा निजी संस्थालाई यस प्रणालीमा अनिवार्य रुपमा आबद्ध हुन अनुरोध गरिएको छ। यसमा दर्ता हुने प्रक्रिया र प्रयोग पुस्तिका विभागको आधिकारिक वेभसाइटमा उपलब्ध गराइएको छ। साथै थप जानकारीका लागि विभागको सूचना प्रविधि शाखा वा कम्प्युटर इञ्जिनियर सन्तोष कुमार शाहसँग सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।

अध्यागमन विभागले ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिलाई पत्राचार गरिसकेको र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत नियमित अनुगमन हुने जानकारी समेत दिएको छ।