काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबार वित्तीय प्रणालीबाट ९० अर्ब तरलता खिच्ने भएको छ । प्रणालीमा २ खर्ब भन्दा धेरै तरलता भएपछि केन्द्रीय बैंकले निक्षेप संकलन मार्फत अधिक तरलता खिच्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा बुधबारसम्ममा २ खर्ब ४ अर्ब तरलता रहेको छ । त्यसैले केन्द्रीय बैंकले १० दिन अवधिको निक्षेप संकलन उपकरण मार्फत ९० अर्ब अधिक तरलता खिच्ने भएको हो ।
यस अवस्थालाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलनमार्फत बैंक तथा वित्तीय संस्थाले राखेको अधिक तरलता संकलन गर्नेछ । यस क्रममा थोरै ब्याजदरमा निक्षेप दिन इच्छुक संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँट गरिनेछ ।
हाल बैंक दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ । निक्षेप संकलनमा ब्याजदर घट्ने संकेत देखिएको राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता धेरै हुँदा निक्षेप संकलन र स्थायी निक्षेप सुविधा प्रयोग गरेर पैसा खिच्ने गर्छ भने तरलता कमी हुँदा रिपो र स्थायी तरलता सुविधा मार्फत रकम पठाउँछ ।
‘जेन जी’ आन्दोलनका कारण केही दिन बैंक तथा वित्तीय संस्था बन्द रहँदा मौद्रिक व्यवस्थापनमा समस्या देखिएको थियो । त्यसबेला तरलता खिच्ने संयन्त्र सक्रिय हुन नसक्दा बैंकमा पैसा थुप्रिएको थियो । आन्दोलनकै कारण निक्षेप पनि बढेको राष्ट्र बैंकले जनाएको छ ।
यस साताको मंगलबारसम्म राष्ट्र बैंकसँग ६ खर्ब ७१ अर्ब ७० करोड रुपैयाँ मौज्दात रहेको छ । सोमध्ये स्थायी निक्षेपमा ४ खर्ब ४ अर्ब र निक्षेप संकलनमा २ खर्ब ६६ अर्ब ७५ करोड रहेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।