काठमाडौं । सर्वसाधारणका लागि यसअघि खुलेको झापा इनर्जीको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रवन्धक हिमालयन क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो ।
उक्त कम्पनीले गत भदौ २० गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७३ हजार ३३६ कित्ता सेयर बिक्री गरेको थियो। सो सेयरमा १८ लाख ६८ हजार १४१ जनाले २ करोड ३ लाख ५१ हजार ६७० कित्ता सेयरका लागि आवेदन परेको थियो। जसमध्ये १८ लाख ३३ हजार ७३८ आवेदन स्वीकृत भएका छन् भने बाँकी रद्द भएका छन्।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार ४७ हजार ३३३ जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।
यसरी बाँडफाँट गर्दा शेष रहेको ६ कित्ता सेयर सोही लगानीकर्ताहरुमा एक कित्ताका दरले बाँडफाँट गरिएको छ। जसअनुसार ६ जना आवेदकले ११ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।