काठमाडौं । हमासले नियन्त्रणमा लिएका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीले बताएका छन् । सोमबार इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी र नेपालमा रहेका विपिनका परिवारलाई उनी जीवित नरहेको आईडीएफका अधिकारीले जानकारी गराएका हुन् ।
चौबिस वर्षीय नेपाली युवा जोशी आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल गएका थिए । विपिन कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी हुन गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत थिए ।