काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलस्थित किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन मजदुरको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । आज बिहान रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दाना उद्योगको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने ३ जना मजदुरको मृत्यु भएको हो ।
आज बिहान उद्योग परिसरभित्रको इँटाको पर्खाल अचानक भत्किँदा काममा रहेका मजदुरहरु मलबेभित्र च्यापिएका थिए । उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज पुर्याइएका तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
मृत्यु हुनेमा चितवन खैरहनी नगरपालिका २ का शुकराम दराई, गोरखा घर भई रत्ननगर १२ बस्ने रेशम दराई र रत्ननगर नगरपालिका १२ बस्ने कमल गुरुङ रहेका छन् । उनीहरुको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा पर्सा घर भई रत्ननगर नगरपालिका १२ बस्ने वर्ष जितेन्द्र महतो र अंकजप्रसाद थारु छन् । उनीहरु दुवैको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।
इलाका प्रहरी कार्यालयका अनुसार दाना उद्योग भित्रको पार्टिसन गरेको १० इन्च बाक्लो इँट्टाको गाह्रो अचानक भत्किएर घटना भएको हो । यसमा बारेमा थप अनुसन्धान भैरहेको उनले जानकारी दिए ।