मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै 

Nepal Cover
२३ कार्तिक २०८२, शनिबार
image

काठमाडौँ।मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) आज विश्वासको मत लिँदैछन् । नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम प्रदेश सभामा आज दिउँसो १ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री सोनल विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री सोनलले सत्तारुढ गठबन्धनको बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेसँग पनि विश्वासको मतका लागि आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।

मधेसका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि ५ दलका ५६ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा सोनललाई गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो । 

मुख्यमन्त्री सोनललाई उनको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन रहेको छ । 

सरकारमा दाबी गर्ने समयमा ५ दल रहे पनि अहिले सोनल नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीले समेत समर्थन गरेको छ ।

दुई पार्टीले समर्थन गरेपछि सोनल सरकारलाई ५७ मतको समर्थन रहेको देखिन्छ । १०७ सदस्यीय प्रदेश सभामा हाल १०४ जना प्रदेशसभा कायम छन् ।

सरकारमा सहभागी रहेका जसपा नेपालका १८ जना, जनमत पार्टीका १३ जना, माओवादी केन्द्रका ९ जना, लोसपाका ८ जना, नेकपा एकीकृत समाजवादी पार्टीका ७ जना र नागरिक उन्मुक्ति पार्टीका तथा नेपाल संघीय समाजवादी पार्टीका १ जना प्रदेश सभा सदस्य मुख्यमन्त्री सोनलको पक्षमा छन् । प्रदेशसभाका दुई ठुला दल नेपाली काँग्रेस र नेकपा एमाले भने विपक्षमा छन् ।