काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको घटनाले राजनीतिक तनाव र प्रशासनिक अव्यवस्था तीव्र बनाएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई गोप्य रूपमा मुख्यमन्त्री नियुक्त गरेपछि असन्तुष्ट दलका सांसद र कार्यकर्ताहरू आक्रोशित बनेका छन्। प्रदेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड र कर्मचारीमाथि कुटपिटसम्मको घटना भएको पुष्टि भएको छ। भिडियोमा एक कर्मचारी फाइल जोगाउने प्रयासमा भिडको आक्रमणमा परेका देखिन्छन्।
भण्डारीले सोमबार बिहानै ४ बजे महोत्तरीको बर्बिदासस्थित पानस होटलमा संविधानको धारा धारा १६८ (३) बमोजिम प्रदेशसभाको ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री बनाएपछि सात दल विरोधमा उत्रिएका हुन् ।
मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर सात दलका सांसद र कार्यकर्ताले जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् । सांसदहरूले मुख्यमन्त्रीको कार्यालयका कर्मचारीलाई समेत कुटपिट गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा फाइल जोगाउन खोजिरहेका एक पुरुष कर्मचारीमाथि भिडले आक्रमण गरेको देखिन्छ । उनलाई मुक्काले हानेपछि फाइल भुइँमा खसेको र अर्को सहकर्मीले उनलाई भीडबाट निकालेको दृश्य देखिन्छ।
उनीहरूले मुख्यमन्त्रीको कार्यालयका गमला, कुर्सी, टेबलसहितलाई निशाना बनाएका हुन् । मुख्यमन्त्रीको कार्यालयमा राखिएको राष्ट्रिय झण्डासमेत उनीहरूले रिसको झोंकमा निकालेर फ्याँकिदिएका छन् । यादवलाई मुख्यमन्त्री बनाइएपछि अहिले जनकपुरधाममा मधेशका सात दलका नेता कार्यकर्ता नाराबाजी गरिरहेका छन् ।
नवनियुक्त मुख्यमन्त्री यादव आउने जानकारी पाएपछि उनलाई अवरोध गर्न नेता र कार्यकर्ता मुख्यमन्त्री कार्यालय अगाडि जम्मा भएका थिए । उता सात दलका कार्यकर्ताले प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबान्दी गरेका छन् ।
स्थिति नियन्त्रणमा लिन सुरक्षा व्यवस्था कडा पारिएको छ ।
तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत नमाग्दै आइतबार राजीनामा दिएका थिए । त्यसपछि कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत, जसपा र नागरिक उन्मुक्ति पार्टीले संविधानको धारा १६८ (२) बमोजिम नै सरकार गठनको प्रक्रिया अगाडी बढाउन माग गर्दै आइरहेका थिए ।
तर रातारात प्रदेश प्रमुखले एमाले दलका नेता यादवलाई मुख्यमन्त्री बनाएपछि असन्तुस्ट दलका नेता तथा कार्यकर्ता विरोधमा उत्रिएका हुन्।