शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको ठहर

Nepal Cover
२ मंसिर २०८२, सोमबार
image

एजेन्सी। स्थानीय अदालतले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको ठहर गरेको छ।हसिना र पूर्व गृहमन्त्रीमाथि सन् २०२४ को जुलाई–अगस्ट महिनामा भएको विद्यार्थी आन्दोलनका क्रममा सयौँ नागरिकको हत्या गरेको आरोपमा अनुपस्थितिमै मुद्दा चलाइएको छ ।

संयुक्त राष्ट्रसङ्घको फेब्रुअरी रिपोर्टअनुसार घटनामा एक हजार ४०० जनासम्मको मृत्यु भएको उल्लेख छ भने अन्तरिम सरकारले आठ सयभन्दा बढी व्यक्तिको मृत्यु र झण्डै १४ हजार घाइते भएको पुष्टि गरेको छ ।अदालतले गत वर्ष आरक्षणको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शन दबाउन हसिनाले राज्यका निकायलाई निर्देशन दिएको ठहर समेत गरेको हाे। अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)मा हसिनाविरुद्धको मुद्दाको फैसला सुनाइँदैछ। न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा रहेको इजलासमा न्यायाधीशहरू मोहम्मद शफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरी सदस्य रहेकाे छन् ।

तीन सदस्यीय इजलासले साेमबार तत्कालीन प्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ । हसिनाले प्रदर्शनकारीमाथि हेलिकोप्टरबाट बम खसाल्न आदेश दिएको समेत इजलासले ठहर गरेको हाे। इजलासमा हसिनाविरुद्धको मुद्दाको फैसला सुनाउने क्रम जारी रहेकाे छ। हसिनाविरुद्धको सजाय भने निर्धारण हुन बाँकी रहेकाे छ ।

न्यायाधिकरणले आफ्नो फैसलामा पाँच आरोपहरू तोकेको छ।

आफ्नो फैसलामा,न्यायाधिकरणले शेख हसिना विरुद्ध पाँच गम्भीर आरोपहरू खुलासा गरेको छ। यसमा ढाकामा प्रदर्शनकारीहरूको सामूहिक हत्याको योजना र निर्देशन, नागरिक समूहहरूमा गोली चलाउन हेलिकप्टर र ड्रोनको प्रयोगलाई अनुमति दिने, विद्यार्थी नेता अबु सईदको कथित हत्यामा संलग्नता, प्रमाण नष्ट गर्न आशुलियामा शव जलाउने आदेश दिने र चांखरपुलमा प्रदर्शनकारीहरूमाथि समन्वित आक्रमणहरूको निरीक्षण गर्ने समावेश छ।

फैसलाको अन्तिममा न्यायाधीशले सजाय निर्धारणको विवरण सुनाउने अपेक्षा गरिएको छ।