काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय वीरगञ्जका सर्भेक्षक रामप्रमोद राउत र नापी टोली आदर्शनगर पानी ट्यांकी वीरगञ्जका कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय एक लाख रूपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले छुट जग्गा दर्ता गर्नका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाई एक लाख रूपैयाँ घुस मागेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको टोली वीरगञ्ज पुगेको थियो ।
त्यसक्रममा घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उनीहरूलाई आदर्शनगर पानी ट्याङ्कीस्थित नापी कार्यालय पर्सा १,२,३ नं. नापी टोलीको कार्यालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।