काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै ७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजित दुई करोड रुपैयाँ बजेटबाट १३ प्रकारका सामग्री खरिद गर्दा कम मूल्य कबोल गर्ने प्रतिस्पर्धीलाई हटाई महँगो प्रस्ताव स्वीकृत गरिएको पाइएको आयोगले निष्कर्ष निकालेको हो ।
आयोगले केन्द्रका तत्कालीन निमित्त निर्देशक डा. अर्जुन प्रसाद सापकोटा, तत्कालीन लेखा अधिकृत राधाकृष्ण श्रेष्ठ, फार्मेसी सुपरभाइजर राजेश्वर रञ्जितकार, रेफ्रिजेरेटर प्राविधिक रवीकुमार महतो, बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाका तत्कालीन लेखा अधिकृत नेत्रनरसिंह कार्की, आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेज र कम्पनीका प्रोप्राइटर नवराज श्रेष्ठलाई प्रतिवादी बनाएको छ ।
केन्द्रमा कम मूल्य कबोल गर्ने फर्मको बोलपत्र स्वीकृत नगरी बढी मूल्य कबोल गर्ने फर्मको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेर हानिनोक्सानी पुर्याउने बदनियतले ओहोदाको दुरुपयोग गरेको उनीहरूमाथि आरोप छ ।
जसबाट ३१ लाख १७ हजार ८९ रूपैयाँ बराबरको रकम डा. सापकोटासहितले आफू तथा अन्य प्रतिवादीलाई गैरकानूनी लाभ र बागमती प्रदेश सरकार/सार्वजनिक संस्थाको सम्पत्तिको गैरकानूनी हानिनोक्सानी पुर्याउने बदनियतले काम गरेको पाइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।
त्यसैगरी, प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौंडाका तत्कालीन लेखा अधिकृत (मूल्यांकन समितिका सदस्य) नेत्र नर सिंह कार्की, आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेज तथा उक्त कम्पनीका प्रोपाइटर नवराज श्रेष्ठलाई समेत प्रतिवादी बनाइएको छ ।