काठमाडौं । बुधबार सेयर बजार १३.५२ अंक घटेको छ । योसहित लगातार चौथो कारोबार दिन बजार घटेको हो ।
यो साता आइतबारदेखि बजार निरन्तर ओरालो लागेको छ । आज १३ अंक घटेसँगै नेप्से २६३१ अंकमा झरेको छ । बजार घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब २३ करोडको भयो । ७४ कम्पनीको मूल्य बढ्दा १७७ को घट्यो भने ७ को स्थिर रह्यो ।
यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सागर डिष्टिलरी, मिथिला लघुवित्त वित्तीय संस्था, झापा इनर्जी, स्वस्तिक लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य ७ प्रतिशत बढेको छ भने बुङ्गल हाइड्रोको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ। यस दिन घटेका स्टकहरुको मूल्य गिरावट दर ३ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन बन्दीपुर केबलकार एण्ड टुरिजम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ४९ लाख ७६ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको करिब १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ।