विराटनगर । गएराति विराटनगरमा मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–५ का २७ वर्षे थापा राति १ बजेतिर दुर्घटनामा परेका थिए ।
विराटनगर–४ स्थित भित्री सडक खण्डमा भएको दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए।
मोरङ प्रहरीका अनुसार थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुमान छ।
राष्ट्रिय खेलाडीको असामयिक निधनले परिवार, आफन्त तथा क्रिकेट समर्थकहरू शोकमा छन्। परिवारका अनुसार थापाका बुवा करिब डेढ दशकदेखि बेपत्ता छन्। उनी आमा तनुजा थापा र भाइ प्रदीप थापासँगै बस्दै आएका थिए।