गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चद्वारा खारेज

Nepal Cover
११ पुष २०८२, शुक्रबार
image

काठमाडौँ । भदौ २३ र २४ गतेको घटनाको छानबिनका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

शुक्रबार न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आयोगविरुद्धको रिट खारेज गरेको हो।  उक्त निर्देशनात्मक आदेशको पूर्ण विवरण भने सार्वजनिक भइसकेको छैन। आयोगका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीलाई कामकारबाही गर्न रोक लगाउन माग गर्दै अधिवक्ता विपिन ढकालले कात्तिक १८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिटमा पूर्वाग्रही धारणा राख्ने व्यक्तिलाई आयोगको अध्यक्ष नियुक्त गर्दा न्याय प्रणालीले अवलम्बन गर्ने प्राकृतिक न्यायको सिद्धान्त उल्लंघन भएको दाबी गरिएको थियो। साथै, अध्यक्ष कार्कीले आफैंले छानबिन गर्नुपर्ने विषयमा आफ्ना समाचार साझा गर्नु र अन्तर्वार्ता दिनुले स्वच्छ सुनुवाइ तथा निर्दोषिताको सिद्धान्तको उल्लंघन भएको उल्लेख गरिएको थियो।

रिट निवेदनमा अन्तिम निर्णय नआउँदासम्म आयोगका अध्यक्ष तथा सदस्यहरूलाई कुनै कार्य नगर्न र नगराउन अन्तरिम आदेश जारी गर्न माग गरिएको थियो।