अकाठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली चुरे गाउँपालिका वडा नं. ६ बस्ने प्रेम सिंह ठगुन्ना र गोदावरी नगरपालिका वडा नं. २ बस्ने किसन सिंह साउदविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
ठगुन्ना र साउदले प्रतिकूल बकपत्र गरेको भन्दै बिहीबार आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
प्रतिवादी वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादव भएको घुस मुद्दामा ती दुई जना साक्षीले मंसिर २५ गते अदालतसमक्ष बकपत्र गर्दा आयोगमा गरेको बयान भन्दा बेहोरा तथा तथ्यसमेत फरक हुने गरी प्रतिकूल बकपत्र गरेको भन्दै मुद्दा दायर गरिएको हो ।
यादवलाई नगद ७ लाख ३१ हजार रूपैयाँ घुस लिएको भन्दै आयोगले दायर गरेको मुद्दामा ती दुई जना साक्षी थिए ।
यादव, ठगुन्ना र साउदबीच गैरकानूनी स्वार्थ तथा लाभ लिने दिने उद्देश्यले पछिबाट सम्बन्ध सम्पर्क भएकै कारण समेतबाट मुद्दाको अनुसन्धानका क्रममा दिएको उजुरी बयान र कसुर तथा सजायमा छुट सुविधा प्राप्ति भएपछि उक्त सुविधा तथा छुटको शर्त विपरीत हुने गरी फरक तथा झुट्टा बेहोरा लेखाई प्रतिकूल बकपत्र गरेको आयोगको दाबी छ ।
ती दुई जनाविरुद्ध पनि आयोगले ७ लाख ३१ हजार रूपैयाँ बिगो कायम गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन् ।
