सेयर बजारमा सामान्य करेक्सन, कारोबार रकम भने १६ अर्ब नाघ्यो

Nepal Cover
१३ माघ २०८२, सोमबार
image

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्सेमा सामान्य करेक्सन भएको छ। अघिल्लो कारोबार दिन उच्च अंक बढेको नेप्से, यस दिन अल्पकालिन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा सामान्य करेक्सन भएर बन्द भएको हो।

सोमबार नेप्से सूचक सामान्य अंकले घटे पनि कारोबार रकमले बजारको उत्साह झनै थपेको छ । देशभरि चुनावी माहोल बढेसँगै सुधारको बाटोमा देखिएको सेयर बजारमा लगानीकर्ता फर्कने तथा लगानी बढाउने क्रम बढेसँगै कारोबार रकम १६ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

नेप्से सूचक घटे पनि कारोबार रकममा देखिएको सुधारले आगामी दिनमा बजार सूचकको उकालो यात्रा कायम नै रहने संकेत गरेको छ । सोमबार नेप्से सूचक घट्ने बढ्ने गरेर बन्द भएको छ ।

कारोबार सुरु हुँदा २७७२.१७ अंकमा रहेको नेप्से बन्द ३.०७ अंकले घटेर २७६९.०९ अंकमा झरेको छ । सोमबार नेप्सेमा कारोबार भएका १ सय ६५ कम्पनीको सेयर मूल्य घटेपछि समग्र बजार सूचक नकारात्मक भएको नेप्सेले जनाएको छ ।

यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन एसवाई प्यानल नेपाल, हिम स्टार उर्जा कम्पनी, सान्भि इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने ट्र्ेड टावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन घटेका स्टकहरुको मूल्य गिरावट दर ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६५ करोड ९३ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको ५६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको कारोबार रकम ५२ करोड रुपैयाँ नाघेको छ।