बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Nepal Cover
१५ माघ २०८२, बुधबार
image

काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले बझाङको एक विद्यालय भवन निर्माणसँग सम्बन्धित विषयमा अनुसन्धान पूरा गरी स्थानीय तहका दुई तत्कालीन पदाधिकारीलाई मुख्य प्रतिवादी बनाएर विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको छ।

विज्ञप्ति अनुसार बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट र तत्कालीन सब-इन्जिनियर किरण भण्डारीलाई उक्त भवन निर्माण कार्यसँग सम्बन्धित प्रक्रिया, मूल्यांकन र भुक्तानीसम्बन्धी कार्यमा संलग्न देखिएकाले प्रतिवादी बनाइएको हो। आयोगले उनीहरूविरुद्ध २० लाख १ हजार ७ सय ७९ रुपैयाँ १२ पैसा बराबरको बिगो कायम गरेको जनाएको छ।

अनुसन्धानका क्रममा सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्था पालना नगरी विद्यालय व्यवस्थापन समितिमार्फत भवन निर्माण गरिएको, वास्तविक निर्माण कार्यभन्दा बढी मूल्यांकन गरी अन्तिम बिल तथा नापी किताबका आधारमा भुक्तानी प्रक्रिया अघि बढाइएको तथा यसबाट सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुगेको देखिएको छ।

त्यसैगरी, कर कट्टा र दाखिलासम्बन्धी कानुनी दायित्व पूरा नगरिएको र विद्यालयको आन्तरिक कोष प्रयोग गरी कर दाखिला गरिएको विषय पनि अनुसन्धानको दायरामा समेटिएको जनाइएको छ।

आयोगका अनुसार यी कार्यहरू भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न दफाअनुसार कसुर ठहरिने देखिएकाले सजायको माग दाबी सहित विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको हो।