काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । नेप्सेमा कारोबार भएका १ सय ७० कम्पनीको सेयर मूल्य घटेपछि त्यसको असर समग्र बजार सूचकमा देखिएको हो ।
बुधबार ५ अंकले बढेको नेप्से सूचक बिहीबार १७ अंक घटेको छ । तर, कारोबार रकममा भने बुधबारको तुलनामा सुधार आएको छ । यो साता नेप्सेमा १६ अर्बभन्दा धेरैको कारोबार भएको थियो । बुधबार ११ अर्बको कारोबार भएकोमा बिहीबार बढेर १४ पुगेको नेप्सेले जनाएको छ ।
बिहीबार कारोबार सुरु हुँदा २७३१.५९ अंकमा रहेको नेप्से १७.५३ अंक घटेर २७१४.०५ बिन्दुमा झरेको छ । बिहीबार नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंक घटेको छ । यस दिन नेप्सेमा कारोबार भएकामध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ७० को घटेको छ ।
बिहीबार टप गेनरमा परेका स्टकहरु अधिकांश जलविद्युत समूहबाट परेका छन् । हिमाल दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावरको शेयर सर्किट लेभलमा कारोबार भएका छन् भने कालिका पावर, रावा इनर्जी, शुभम पावर, युनियन हाइड्रोपावर, नेसनल हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, बलेफी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावर टप गेनर कम्पनीमा परे त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंकमा नकारात्मक सर्किट लागेर घटे भने सान्भि इनर्जी, दरमखोला हाइड्रोपावर, एसवाई प्यानल नेपाल जस्ता कम्पनीहरु ९ प्रतिशत भन्दा बढीले घटेको छन् भने हिमस्टार ऊर्जा, ट्रेड टावर र श्रीनगर एग्रिटेक इन्डस्ट्रिज ८ प्रतिशतले तथा विकास हाइड्रोपावरको शेयर मूल्य भने ७ प्रतिशत भन्दा बढीले घटेका छन् ।
कुल कारोबारमा जलविद्युत समूहका कम्पनीको कारोबार ८ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ जुन कुल कारोबारमा ५८ प्रतिशत हुन आउँछ । टप गेनरमा हाइड्रोपावर कम्पनी आए पनि नेप्से परिसूचकलाई सकारात्मकतातिर डोर्याउन सकेन ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५९ करोड ९९ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन एसवाई प्यानल नेपाल लिमिटेडको कारोबार रकम ५२ करोड २९ लाख रुपैयाँ नाघेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको ४६ करोड ६४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।