अवैध रूपमा अमेरिका पुर्‍याउने दुई जना विरूद्ध मुद्दा दायर

Nepal Cover
५ फाल्गुन २०८२, मंगलवार
image

काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) कसुरमा दुई जनाविरूद्ध अभियोगपत्र दायर भएको छ।

रूकुम पश्चिम साविक बाफिकोट गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्ने कलबहादुर बस्नेत र जिल्ला रूकुम पूर्व सिस्ने गाउँपालिका–५ घर भई हाल काठमाडौं बस्ने अमित बस्नेतविरूद्ध मुद्दा दायर गरिएको हो। 

करिब २५० जनालाई गैरकानुनी माध्यमबाट अमेरिका पुर्‍याएको आरोप लागेका दुई व्यक्तिविरुद्ध झन्डै एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ। अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा अभियोग दर्ता गरेको हो।

ब्युरोका अनुसार कलबहादुर हाल डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा छन्। उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को समन्वयमा गत भदौमा दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। उनी मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा थुनामा रहेका हुन्। अर्का प्रतिवादी अमित भने फरार अवस्थामा रहेको र फरार अभियुक्तका रूपमा मुद्दा अघि बढाइएको जनाइएको छ।

प्रहरी उपरीक्षक एवं प्रवक्ता राजन लिम्बुका अनुसार दुवैले ठुलो संख्यामा व्यक्तिलाई अमेरिका पठाउने भन्दै रकम असुली गरेको, कतिपयलाई भने गन्तव्यमा नपुर्‍याई अलपत्र पारेको देखिएको छ। बैंक खाताको विवरण परीक्षण गर्दा कलबहादुरको खाताबाट ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ र अमितको खाताबाट २७ करोड ४५ लाख २९ हजार २८ रुपैयाँ बराबरको शंकास्पद कारोबार फेला परेको प्रहरीले जनाएको छ।

दुवैको संयुक्त रूपमा ९८ करोड ५ लाख ८२ हजार ७५१ रुपैयाँ बराबरको अवैध कारोबार पुष्टि भएको दाबी गर्दै सोही रकम बिगो कायम गरी सम्पत्ति शुद्धीकरणअन्तर्गत मुद्दा दायर गरिएको जनाइएको छ।