काठमाडौं । आइतबार सेयर बजार ४.४५ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २८२४ अंकमा कायम भएको छ । दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो । कारोबार रकम केही दिनयता नै उल्लेख्य छ । अघिल्लो दिन १४ अर्ब ५५ करोडको कारोबार भएकोमा आज १४ अर्ब ३२ करोडको भयो ।
१२४ कम्पनीको मूल्य बढ्दा १३० को घट्यो भने ९ को स्थिर रह्यो । आज व्यापार समूह सबैभन्दा धेरै २.८३ प्रतिशत बढेको छ । त्यस्तै बैंकिङ ०.२१, विकास बैंक ०.७४, फाइनान्स ०.२२, हाइड्रोपावर ०.०६, उत्पादन तथा प्रशोधन ०.१२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.१६, अन्य ०.०३ प्रतिशत बढे ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सोलु हाइड्रोपावर र सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८१ करोड १ लाख २१ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको करिब ६८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे ६२ करोड रुपैयाँ नाघेको छ।