काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गरेको आरोपमा सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भ्रष्टाचारसम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा रहेका एक व्यक्तिविरुद्ध नै कानुनी कारवाही अघि बढाइएको छ। आयोगले अनुसन्धानका क्रममा दिएको बयान र प्रमाणसँग मेल नखाने गरी अदालतमा बकपत्र गरेको आरोपमा साक्षी टकबहादुर घर्तीविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।
साबिकको घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा वादी पक्षबाट साक्षीका रूपमा प्रस्तुत गरिएका घर्तीले अदालतमा फरक किसिमको बयान दिएपछि उनीमाथि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्। उक्त मुद्दा दर्ता नम्बर ०८२ सीआर ००२७ रहेको जनाइएको छ।
उक्त प्रकरणमा वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्की प्रतिवादी रहेका थिए। अनुसन्धानका क्रममा घर्तीले अनुसन्धान अधिकृतलाई सहयोग गरेका आधारमा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को प्रावधानअनुसार सजायमा छुट दिँदै सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो।
तर, २०८२ माघ २२ गते विशेष अदालतमा बकपत्र गर्ने क्रममा घर्तीले अनुसन्धानको समयमा दिएको बयान तथा मिसिलमा रहेका प्रमाणसँग असंगत हुने गरी बयान दिएको आयोगको भनाइ छ। आयोगले उनको बयानले सत्यतथ्य लुकाएको तथा प्रमाण विपरीत रहेको निष्कर्ष निकालेको जनाएको छ।
अनुसन्धानअनुसार घर्ती सञ्चालक रहेको देउतीबज्यै कन्स्ट्रक्सनले दैलेखस्थित डुङ्गेश्वर गाउँपालिकाका विभिन्न वडामा सडक स्तरोन्नति कार्य सम्पन्न गरेपछि अन्तिम भुक्तानी प्रक्रियामा सहजीकरण गर्नका लागि वरिष्ठ लेखा अधिकृत कार्कीलाई एक लाख रुपैयाँ घुस दिएको ठहर गरिएको छ।
सोही आधारमा उनलाई प्रतिवादी बनाउँदै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ ९घ० अनुसार कसुर कायम गरी बिगो एक लाख रुपैयाँ निर्धारण गरिएको छ। आयोगले सोही बिगोअनुसार कैद तथा जरिवाना माग गर्दै शुक्रबार विशेष अदालतमा आरोप पत्र दायर गरेको जनाएको छ।