काठमाडौ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित ‘हाइप्रोफाइल’ व्यक्तिहरूलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रकाश पाठक अहिले प्रहरी हिरासतमा छन् ।
नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीबाट २ करोड रुपैयाँ सुपारी लिएका पाठकलाई प्रहरीले इन्टरपोलको सहयोगमा फिलिपिन्सबाट गत माघ २८ गते नेपाल ल्याएको हो ।
उनै पाठकले दिएको बयानले अनुसन्धान झन् पेचिलो बन्न पुगेको छ । यो घटनाबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रहरी परिसर काठमाडौंले छुट्टा-छुट्टै अनुसन्धान गरिरहेका छन् । पाठकले प्रहरीसँगको बयानमै अधिकारीबाट दुई करोड लिएको स्वीकार गरेका छन् । प्रहरी अनुसन्धानमा उनले फिलिपिन्समा समेत अपार्टमेन्ट खरिद गरेको तथ्य खुलेको छ ।
भक्तपुरको नलिञ्चोक र पोखरा अन्तराष्ट्रिय विमानस्थल बनाउँदा अधिकारीले अकुत आर्जन गरेका थिए । अख्तियारमा मुद्दा परेसँगै उनीमाथि अनुसन्धान अघि बढेको थियो । विभिन्न शक्तिकेन्द्रमार्फत मुद्दा तामेलीमा राख्न अख्तियार प्रमुख राईलाई दबाब दिए पनि अधिकारीविरुद्ध मुद्दा चलेरै छाड्यो ।
एक चरणको मुद्दा अघि बढे पनि अर्को चरणको मुद्दा चलाउने तयारीमा अख्तियार छ । विशेष अदालतको आदेशमा अधिकारी अहिले पुर्पक्षका लागि कारागारमा छन् । अख्तियार प्रमुखलाई धम्की दिन आपराधिक समूह परिचालन गरेको आरोप अधिकारीमाथि छ ।
अधिकारीले चिनियाँमार्फत फिलिपिन्समा रहेका पाठकलाई हुण्डीमा पैसा पठाएको तथ्य अनुसन्धानले देखाएको छ । प्रहरीले पाठकको बयानका आधारमा अधिकारीलाई पनि यो मुद्दामा अनुसन्धान गर्ने भएको छ । अख्तियर प्रमुख राई ले नागरिकको अपेक्षित सुशासनको निम्ति ठुला ठुला भ्रस्टाचारका मुद्दा अगाडि बढाए सगै उनी माथि सुरक्षाको थ्रेड बढेको छ।
स्मरण रहोस् अख्तियरको इतिहासमा यति धेरै भ्रष्टाचारका मुद्दा अगाडि बढेको पहिलोपटक हो।
जसका कारण माफियाहरु सलबलाउन छाडेका छैन।