काठमाडौं । प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले प्रधानमन्त्री र मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणको तथ्यपरक छानबिन हुनुपर्ने बताएका छन् ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणको तथ्यपरक छानबिन, कर चुक्ता र आयस्रोतको वैधानिकता खोजिनुपर्ने बताएका हुन् ।
उनले भने,‘सरकारका मन्त्रीजीहरूले जुन अहिले सम्पत्ति जुन सार्वजनिक गर्नुभएको छ, त्यसको आय स्रोत के हो? त्यो जनतालाई वैधानिक हिसाबले क्लियरकट हिसाबले जानकारी गराउन जरुरी छ,’ सांसद कर्णले भने, ‘तब मात्रै उहाँहरूले जुन सम्पत्ति शुद्धीकरण थाल्नुभएको छ। त्यो अभियानमा बल्ल हाम्रो विश्वास हुन सक्दछ।’
मन्त्रिपरिषद्का सदस्यहरू नै शंकाको घेरामा रहेसम्म जनतामा सुशासनको अनुभूति हुन नसक्ने उनको भनाई छ ।
उनले भने, ‘युवा पुस्ताले संसद् र नेतालाई हेर्ने दृष्टिकोण बदलिएको छ । युवा पुस्ताको विश्वास जित्न र सुशासन कायम गर्दै अगाडि बढ्न २०४६ साल यताका सबै उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गरिनुपर्छ ।’