काठमाडौं । सरकारले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित पाँच महत्वपूर्ण निर्णयहरू गरेको छ। सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले बैठकपछि ती निर्णयहरू सार्वजनिक गरेका हुन्।
सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा गठन गरिएको उक्त समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहेका छन्।
त्यसैगरी, नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरिएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ तथा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्ने विधेयकहरू पनि संसदमा पेश गर्न सरकार तयार भएको छ।
यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गरिएको छ भने सदस्यमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई मनोनयन गरिएको छ।सरकारका यी निर्णयहरूलाई प्रशासनिक सुधार, कानुनी व्यवस्था अद्यावधिक र सहकारी क्षेत्रको व्यवस्थापन सुदृढ गर्ने कदमका रूपमा हेरिएको छ।