रौतहट, १९ बैशाख। मधेश प्रदेश प्रहरीले लागुऔषध सेवन र कारोबार नियन्त्रणलाई थप प्रभावकारी बनाउन लक्षित गर्दै “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान २०८३” सञ्चालनमा ल्याएको छ। प्रदेश प्रहरी प्रमुख डिआईजी गोबिन्द थपलियाले शुक्रबार आठवटै जिल्लाका प्रहरी प्रमुख (एसपी) तथा मातहतका युनिटहरूलाई विशेष निर्देशन दिँदै अभियानलाई औपचारिक रूपमा अघि बढाएका हुन्।
अभियान अन्तर्गत प्रमुख सीमा नाकाहरूमा “ड्रग्स टेस्टिङ चेकपोइन्ट” स्थापना गरिनेछ, जहाँ आधुनिक उपकरणमार्फत आवतजावत गर्ने व्यक्तिहरूको परीक्षण गरिनेछ। सीमा पार गर्ने युवाहरूलाई विशेष प्राथमिकतामा राख्दै उनीहरूको तथ्यांक संकलन र निगरानीलाई व्यवस्थित बनाइने योजना रहेको उनले बताए।
यसका साथै, लागुऔषध सेवनकर्ताहरूलाई सीमाक्षेत्रमै एक घण्टासम्म सचेतनामूलक अडियो–भिजुअल प्रशिक्षण दिइनेछ। उनीहरूको विस्तृत अभिलेख तयार गरी आवश्यक परे जीपीएस लोकेशन ट्र्याकिङसमेत गरिने प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार यो अभियान केवल नियन्त्रणमा सीमित नरही सुधार र पुनःस्थापनामा केन्द्रित हुनेछ। स्थानीय तथा प्रदेश सरकारसँग सहकार्य गर्दै खेलकुद, मनोरञ्जन, सीप विकास तालिम तथा रोजगारीमुखी कार्यक्रममार्फत युवाहरूलाई सकारात्मक बाटोतर्फ डोर्याउने लक्ष्य राखिएको छ।
साथै, लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न औषधि पसल, गोदाम र मुख्य कारोबारीमाथि कडा निगरानी राखी पहिचान गरिने र कानूनी कारबाहीलाई थप तीव्र बनाइने जनाइएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न सरकारी–गैरसरकारी संस्थासँग सहकार्यमा अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ। यस अभियानले मधेश प्रदेशमा बढ्दो लागुऔषध दुव्र्यसन नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास डिआईजी थपलियाले व्यक्त गरेका छन्।
सञ्जय मिश्रा