अनुमतिबिना भारतीय विमानस्थल प्रयोग गर्ने १५९ म्यानपावर विभागको कारबाहीमा

सम्पत्ती न्यूज
२८ असार २०८३, आईतवार
image

काठमाडौं । वैदेशिक रोजगार विभागले विभागको अनुमति नलिई भारतीय विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई विदेश पठाउने १५९ वटा म्यानपावर कम्पनीलाई पहिलो पटक सचेत गराउँदै कारबाही गरेको छ।  वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ विपरीत कार्य गरेको ठहर गर्दै विभागले यो कदम चालेको हो ।

कानुनी व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले स्वदेशी विमानस्थल नै प्रयोग गर्नुपर्ने हुन्छ र विशेष परिस्थितिमा विदेशी विमानस्थल प्रयोग गर्नु परेमा विभागको पूर्वस्वीकृति अनिवार्य लिनुपर्ने प्रावधान छ ।

यो कारबाहीको पृष्ठभूमि म्यानपावर कम्पनीहरूले विवरण बुझाउन देखाएको उदासीनतासँग जोडिएको छ ।विभागले २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकहरूको उडान विवरण माग गरेको थियो ।तर, हाल सञ्चालनमा रहेका कुल १ हजार ११७ इजाजतप्राप्त संस्थामध्ये ६७८ कम्पनीले मात्रै विवरण बुझाएका थिए ।

त्यसरी प्राप्त विवरणहरूको सुक्ष्म अध्ययन र अनुगमन गर्दा १५९ वटा म्यानपावर कम्पनीले नियम मिचेर अनुमतिबिनै भारतीय विमानस्थलबाट श्रमिक उडाएको रहस्य खुलेको हो ।

यसै क्रममा, विभागको निर्देशनलाई अटेर गरी विवरण नै उपलब्ध नगराउने ४३९ वटा म्यानपावर कम्पनीहरू पनि कारबाहीको फन्दामा परेका छन् ।ऐनको दफा ३७ उल्लंघन गरेको ठहर गर्दै विभागले ती कम्पनीहरूलाई पहिलो पटक सचेत गराएको छ र तत्काल माग गरिएको विवरण बुझाउन पुनः निर्देशन दिएको छ ।

पटक–पटक कानुन र विभागीय निर्देशनको धज्जी उडाउने अन्य ८ वटा म्यानपावर कम्पनीलाई भने विभागले थप कडा कारबाही गर्दै जनही ५० हजार रुपैयाँका दरले जरिबाना समेत गराएको छ ।जरिबाना गरिएकामध्ये ३ वटा कम्पनीले पुनः भारतीय विमानस्थल प्रयोग गरेको र ५ वटा कम्पनीले माग गरिएको विवरण बुझाउन अस्वीकार गरेको पाइएको छ ।

भारतीय विमानस्थल हुँदै अवैध रूपमा नेपाली श्रमिकहरूलाई वैदेशिक रोजगारीमा पठाउने गरेको व्यापक गुनासो आएपछि विभागले गत असार २६ गते मात्रै एक विशेष सूचना जारी गरी उडान विवरण माग गरेको थियो ।

विभागले सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरूलाई कानुन र विभागीय निर्देशनको अक्षरसः पालना गर्न कडा आग्रह गरेको छ ।

साथै, भविष्यमा यस्ता गैरकानुनी गतिविधिहरू पुनः दोहोरिएको पाइएमा इजाजत नै खारेज गर्नेसम्मका थप कडा कानुनी कारबाही गरिने चेतावनी समेत विभागले दिएको छ ।