नक्कली भुटानी शरणार्थी प्रकरण: दुई पूर्व मन्त्री सहितलाई सजाय सुनाइने

सम्पत्ती न्यूज
२९ असार २०८३, सोमबार
image

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका दुई पूर्व मन्त्रीसहित १६ जनालाई आज सजाय सुनाइने भएको छ।

गृह प्रशासनको समेत मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने नाममा भएको बहुचर्चित ठगी धन्दामा दोषी ठहरिएका दुई पूर्वमन्त्रीसहित १६ जनालाई आज अदालतले सजाय सुनाउन लागेको हो।

गत असार २३ गते जिल्ला अदालत काठमाडौंले यससम्बन्धी मुद्दामा फैसला सुनाउँदै १६ जनालाई दोषी ठहर गरेको थियो। कुल ३१ जना प्रतिवादी रहेको यो मुद्दामा १६ जना दोषी ठहर भएका छन् भने सात जनाले सफाइ पाएका छन्। बाँकी आठ जना प्रतिवादी फरार रहेकाले उनीहरूको मुद्दा हाललाई मुल्तवीमा राखिएको छ।

यस मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी, पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई दोषी ठहर भएका छन्। त्यस्तै, शरणार्थी नेता टेकनाथ रिजाल, बिचौलिया समूहका केशव दुलाल, सानु भण्डारी, बेचन झा, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन खरेललाई पनि अदालतले दोषी ठहर गरेको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले आज यी सबै दोषीहरूका लागि सजाय निर्धारण गर्नेछ। दोषी ठहर भएकामध्ये टोपबहादुर रायमाझी, इन्द्रजित राई, बेचन झा, केशव दुलाल, सानु भण्डारी र सन्देश शर्मासहितका सात जना प्रतिवादीहरू हाल कारागारमा रहेका छन्।