नेताहरुले एउटै डुंगामा छौँ भन्ने हेक्का राखेर एक अर्काको संवेदनशीलता ख्याल गरौँ–मन्त्री पोखरेल

Nepal Cover
२४ कार्तिक २०७७, सोमबार
image

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवादका खेलले कसैलाई जित्न नदिने बताएका छन् । आइतबार सामाजिक सञ्जाल मार्फत नेताहरुले एउटै डुंगामा छौँ भन्ने हेक्का राखेर एक अर्काको संवेदनशीलता ख्याल गर्नुपर्ने बताएका छन्

‘हामी एउटै डुंगामा छौँ भन्ने हेक्का राख्ने र एक अर्कोको संवेदनशीलतालाई ख्याल गर्ने हो भने पार्टीलाई एकतावद्ध राख्ने शुत्र एकताको दस्तावेज र स्थायी समितिको पछिल्लो बैठकका निर्णयमै निहित छ, एकताको मर्म र भावना विपरितको खेलले कसैलाई जित्न दिदैन,’ पोखरेलले लेखेका छन् ।

उनले सचिवालयका नेतालाई विवाद र कटुता बिर्सिएर एकताको बाटोतर्फ फर्किनसमेत सुझाव पनि दिएका छन् । उनले भने ‘एकता महाधिवेशनमा प्रवेश नै नगरी सहमति भन्दा बाहिरबाट जित्ने कोशिस एकता विरुद्धको खेल सावित हुनेछ, त्यसैले सचिवालयका कमरेडहरु विवाद र कटुता विर्सेर एकताको बाटोतर्फ फर्कनु होस् ।’

मुख्यमन्त्री पोखरेलले सबैले अनुशासित पार्टी चाहेको र सचिवालयको कर्तव्य स्थायी समितिको निर्णय कार्यान्वयन गर्नु रहेको उनले प्रष्ट पारेका छन् । उनले सचिवालयका सबै सदस्यलाई इमान्दारिताका साथ एकता महाधिवेशनको तयारीमा जुट्न आग्रह गरेका छन् ।
‘आम पार्टी पंक्तिको चाहना एकतावद्ध, गतिशील र अनुशासित पार्टी नै हो, सचिवालयको कर्तव्य स्थायी समितिको निर्णयको कार्यान्वयन हो तसर्थ स्थायी समितिको बैठकका निर्णय इमान्दारिताका साथ पालना गर्दै एकता महाधिवेशनको तयारीमा जुट्न म सचिवालयका सम्पूर्ण कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।