संखुवासभामा प्रधानमन्त्री ओलीको अभिव्यत्तिः म जनताद्धारा निर्वाचित प्रधानमन्त्री हुँ, निडर भएर अगाडी बढ्छु

  Sampatti News

November 11, 2020

संखुवासभा । प्रधानमन्त्री केपी ओलीले आफू जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएको र निडर भएर अगाडि बढ्ने बताएका छन् । संखुवासभामा किमाथांका र अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमनका क्रममा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो अभिव्यत्ति दिएका हुन् ।

आफू पार्टी अध्यक्ष र जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएकाले नडराउने उनको भनाई थियो । उनले पार्टी कार्यकर्ताहरूलाई नआत्तिकन अगाडि बढ्न पनि आग्रह गरे ।

ओलीले आफ्नो दल ५० वर्ष अगाडिदेखि सानासाना टुक्राटुक्रा जोडेर निर्माण गरिएको हुँदा कोही–कसैको चाहनाले नेकपा केही नहुने बताए । साथै उनले नडराइकन काम गर्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला ओलीले यस्तो बताएका हुन् ।

शनिवार मात्र पार्टी कार्यालय धुम्बाराहीमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र सचिवालयका अन्य ४ सदस्यले सचिवालयको बैठकको माग गरेका थिए । पार्टीभित्र ओली र प्रचण्ड–नेपाल पक्षको सम्बन्ध चिसिएको छ ।

प्रकाशित मिति:November 11, 2020