November 22, 2020
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंशमा अभिवृद्धि गर्न करका दायरा बिस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताए ।
नवौं राष्ट्रिय कर दिवस २०७७ को अवसरमा आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले स्वेच्छिक कर सहभागिता वृद्धि गर्दै परिपालनाका माध्यमबाट समग्र राजस्व परिचालनमा अभिवृद्धि गर्न जरुरी रहेको बताए । उनले कर परीक्षण कर, अनुसन्धान , बजार अनुगमन , प्रशासनिक पुनरावलोकन , बक्यौता असुली , बेरुजु फछर्यौट जस्ता परिपालनाका विधिलार्इ कडाइका साथ लागू गर्न निर्देशन दिए ।
अर्थमन्त्री पौडेलले कर सहभागितामा न्यूनतम लागत , सेवाग्राहीमैत्री व्यवहार, प्रकृयागत सरलीकरण, प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न पनि निर्देशन दिए । यस्तै करदाताको कर प्रशासनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र करको दायरा र पहुँच बिस्तारमा परिणाम देखिने गरी सुधार गर्न आन्तरिक राजस्व विभाग र मातहतका सबै राजस्व कार्यालयलाई निर्देशन दिए ।
उहाँले करदाता र कर प्रशासनबीचको स्वच्छ व्यवसायिक सम्बन्ध र आपसी विश्वास मजबुद भएमा मात्र राजस्व परिचालनमा सकारात्मक योगदान पुग्ने र यसका लागि कर दिवस सहयोगी रहने धारणा व्यक्त गरे ।
अर्थमन्त्री पौडेलले कर तिर्न सक्ने नागरिकलाई कर तिर्नका लागि अभिप्रेरित गर्न कर्मचारीहरुलाई शासकका रुपमा होइन, नागरिकको सेवकका रुपमा काम गर्न निर्देशन दिए ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीका कारण गरिएको लकडाउन र त्यसपछिका निषेधाज्ञा लगायतका आवगमनका अवरोधबाट अर्थतन्त्रमा आएको संकुचनको बावजुद आर्थिक वर्ष २
०७६–७७ को राजस्वको संशोधित अनुमान पूरा भएको भन्दै अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म लक्ष्यको नजिक राजस्व संकलन हुने गरी कर सहभागिता जनाउनु हुने सबै करदातालाई धन्यवाद ज्ञापन गरे ।
उहाँले कोभिड महामारीको विषम परिस्थितिमा समेत आ(आफ्नो कार्यथलोमा अनवरत खटिएर कर्तव्य पालन गर्ने कर प्रशासन सम्वद्ध कर्मचारीलाई धन्यवाद दिए ।
अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बाँकी अवधिमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा योगदान गर्न विगतमा झैं निरन्तरको सहकार्य र सहयोगका लागि सम्पूर्ण करदातालार्इ अपिल गरेका छन्। यस्तै कर प्रशासनमा सुशासन, सदाचार र भ्रष्टाचार प्रतिको सून्य सहनशीलताको नीतिलार्इ पालन गर्न निर्देशन दिए ।
आन्तरिक राजस्व विभागको चालु आर्थिक वर्षका लागि तय गरेको कार्यमूलक सूचकमा तोकिएको लक्ष्य हासिल गर्न र आर्थिक ऐन २०७७ मार्फत ल्याइएका विभिन्न योजना तथा सुधारका कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा योगदान गर्नु हुने विश्वास पनि व्यक्त गरे ।
अर्थमन्त्री पौडेलले कर दिवसले कर प्रशासनको आवश्यक ज्ञान र दक्षता अभिबृद्धि गर्नुको साथै कर प्रशासनलाई निष्पक्ष सेवाग्राहीमैत्री भावनाको विकास गर्न उत्प्रेरित गराउन र सुशासनयुक्त तथा पारदर्शी बनाउन सहयोग पुर्याएको बताए ।
प्रकाशित मिति:November 22, 2020
November 22, 2024