‘रोपवे सञ्चालन गर्नेतर्फ सम्भाव्यता अध्ययन गरिने’ मन्त्री फुयाल

Nepal Cover
१ पुष २०७७, बुधबार
image

काठमाडौँ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले पुरानो एकमात्र बन्द रहेको हेटौँडादेखि काठमाडौँ जोड्ने ४२ किलोमिटर लामो रोपवेको सम्भाव्यता अध्ययन गरी पुनः सञ्चालनमा ल्याउन प्रदेश सरकारले तयारी गरेको बताउनुभयो ।

उहाँले आज रासससँग संक्षिप्त कुराकानी गर्दै प्रदेश सरकारले रोपवे सञ्चालनमा ल्याउन गत असारमा चालु आव २०७७÷०७८ को बजेट विनियोजन कार्यक्रममा समावेश गरिएनुसार अत्याधुनिक प्रविधिबाट सञ्चालनमा ल्याउनतर्फ प्राविधिकसँग अहिले छलफल भइरहेको बताउनुभयो । उहाँले प्राविधिकले दिएको सुझाव र कार्यतालिकाअनुसार बजेट विनियोजन गरी विभिन्न उपकरणका साथै केबुलतार जडान गर्न प्राविधि छिट्टै परिचालन गरिने उल्लेख गर्नुभयो ।

अमेरिकन सरकारको सहयोगमा सञ्चालित नेपाल रोपवे विसं २०२० देखि हेटौँडा–काठमाडौँको सामान ढुवानी गर्ने कार्यमा सञ्चालित रहँदै आएको थियो । हेटौँडादेखि विभिन्न स्टेशनमा केबुलतारका साथै केही उपकरणमा आएको खराबीले गर्दा विसं २०५६ जेठदेखि रोपवे सञ्चालनमा अवरोध आई बन्द गर्न बाध्यता आइपरेको थियो । काठमाडौँको टेकु, मातातीर्थ, टङ्ला हुँदै मकवानपुरको फाखेल, देउरालीलगायत सातवटा स्टेशनमा मर्मतसम्भार, नयाँ तारको केबल फेर्ने र सामान ढुवानी गर्ने ट्रली नयाँ खरिद गरी सञ्चालनमा ल्याउन प्राविधिकले सम्बन्धित निकायसँग सम्पर्क गरिरहेको भौतिक तथा पूर्वाधार विकास मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद उप्रेतीले बताउनुभयो ।

पुरानो रोपवे सञ्चालनको अवस्थामा हेटौँडाबाट जिल्लाको फाखेल, सिस्नेरी, इपा, पञ्चकन्या, कुलेखानीका स्थानीय बासिन्दालाई दैनिक खाद्यान्न, तरकारी, लत्ताकपडा, सिमेन्ट, जस्तापाता र औषधि अत्यन्तै सुपथ मूल्यमा ढुवानी गर्दै आएको हेटौँडाका किराना व्यवसायी प्रभाकर पाण्डेले जनाउनुभयो ।

यसैगरी हेटौँडाबाट काठमाडौँको टेकुतर्फ स्थानीय व्यापारीले सिमेन्ट, खाद्यान्न, लत्ताकपडा, जस्तापाता, मार्बल, औषधि, इन्धन ढुवानी गरी सुपथ मूल्यमा पठाउने गरेको पनि मकवानपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले बताउनुभयो