December 27, 2020
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेसलाई चुनाव हुन्छ र चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी हुन्छ र सरकार चलाउँछौं भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । संसद विघटनको विरोधमा जसपाले गरेको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले नेपाली कांग्रेसलाई चुनाव हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरेका हुन् । उनले भने “‘चुनाव हुन्छ र चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी हुन्छ र सरकार चलाउँछौं भन्ने भ्रममा नपर्नुस् ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको ध्येय निरंकुश शासन गर्ने भएको भन्दै उनले आफ्नो प्रभुत्व कायम गरेको विश्वास नभएसम्म चुनाव नगराउने उनको भनाई रहेको छ । उनले अघि भने, ‘चुनाव भ्रम मात्र हो, आफ्नो निरंकुश शासन गर्ने ध्येयले चुनावको कुरा गरेका छन् । आफ्नो प्रभुत्व पुरै कायम गरेको विश्वास नभएसम्म चुनाव हुन्न ।’
भट्टराईले अदालतबाट संसद पुनर्स्थापना हुन्छ भन्नेमा आफू ढुक्क हुन ननसकेको बताएका छन् । ‘अदालतबाट आशा त गरौं, तर भर गर्ने ठाउँ छैन’ पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने, किनकी अदालत जहिले पनि सार तत्वमा जाँदैन । न्याय दिने भन्दा पनि विधि प्रमाण पुर्याउनेतिर जान्छ ।’
‘कांग्रेस र अरु साथीहरुलाई आग्रह गर्न चाहन्छु, न्यायालयबाट आश गरौं, ढुक्क नबनौं’ उनले अघि भने ।
अर्को विकल्प भनेको सार्वभौम अधिकार प्रयोग गरेर संंसद बोलाउने भएको उनले बताए । यसका लागि सभामुखले सबै खलको बैठक बोलाउने र संसदको बैठक राख्नुपर्ने उनले बताए । ‘अत्याधिक सांसदहरु विघटन गलत छन् भन्ने पक्षमा छन् । जनतामा निहित सार्वभौमसत्ता प्रयोग गरेर बैठक बोलाउनुपर्छ र, हामीले फैसला गरौं’ उनले भने ।
ओलीको निरंकुश शासन फाल्न संयुक्त जनआन्दोलन गर्नुपर्ने भन्दै उनले सहकार्यका लागि आग्रह गरे ।
प्रकाशित मिति:December 27, 2020
November 22, 2024