नागरिक एपमा समस्या आएपछि अर्को एप बनाइँदै

  Sampatti News

January 19, 2021

काठमाडौँ । नेपाल सरकारले गत माघ २ गते नागरिक एप सञ्चालन गरेको थियो । तर सार्वजनिक गरेको ‘नागरिक एप’मा केही समस्या देखिएपछि सो समस्या हटाउन नयाँ एप बन्ने भएको छ । सबै सार्वजनिक सेवा एउटै एपबाट दिनेगरी संचालनमा ल्याइएको नागरिक एपमा आएको समस्या हटाउन सरकारले अर्को अनलाइन प्रणाली बनाउन सुरु गरेको हो।

धेरै सेवाग्राहीको नागरिकता नम्बर मेल नखाएकोले नागरिकतामा भएका सानातिना गल्ती सच्याउन अनलाइन प्रणाली विकाश गर्न लागिएको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।

‘नागरिकताको विवरण मिलेन भन्ने धेरै गुनासो आयो। गुनासोलाई द्रुतरुपमा सम्बोधन गर्न हामीले यो प्रणाली विकाश गर्न लागेका हौँ। सम्भवत अर्को एप हुन्छ होला,’ लामिछानेले भने। नयाँ प्रणाली बनेपछि नागरिकतामा भएका कमजोरी घरमै बसेर सच्याउन सकिने उनले बताए।

सेवाग्राहीले नागरिकताको फोटो खिचेर त्यो प्रणालीमा दाखिल गरेपछि प्रमाणित हुन्छ। कसैको प्रमाणित हुन समस्या भए जिल्लाबाटै प्रमाणित गराउँछौँ। नागरिकले दुःख पाउन पर्दैन,’ उनले भने।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी नागरिक एपको सार्वजनिक गरेका हुन्।

नागरिकलाई सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउन तथा सबै प्रकारका काममा अनलाइन प्रणाली अपनाउन नागरिक एपको सञ्चालन गरीएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले जानकारी दिए। सेवाग्राहीले अब लामो लाइन र झन्झटिलो प्रक्रिया अपनाउनु नपर्ने उनको भनाइ छ।

नागरिक एप आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सिममार्फत् प्रयोग गर्न सकिने जनाइएको छ।

सेवाको लागि प्रयोगकर्ताले आफ्नो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने छ।

प्रकाशित मिति:January 19, 2021