आधिकारिकता माग्दै दाहाल–नेपाल पक्ष

  Sampatti News

February 2, 2021

काठमाडौंः नेकपाको दाहाल–नेपाल समूहले पार्टी नाम र चुनाव चिह्नको आधिकारिकताका लागि निर्वाचन आयोगमा दाबी गर्ने भएको छ।

गत माघ ११ गते निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई आधिकारिकता नदिएपछि दाहाल–नेपाल पक्ष राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ लाई आधार बनाउँदै निर्वाचन आयोग जाने निष्कर्ष मा पुगेको हो। आयोगले नेकपाका दुवै पक्षले पुस ५ गतेयता गरेका छुट्टाछुट्टै बैठक र निर्णयलाई अवैधानिक ठहर गरी विधान बमोजिम नमिलेको निष्कर्ष निकाल्दै दुवै पक्षलाई पत्र पठाएको थियो। राजनीतिक दल दर्तासम्बन्धी किताबको अध्यावधिक विवरण हेरफेरका लागि गरेको दुवै पक्षको आग्रहलाई अस्वीकार गर्दै आयोगले नेकपामा प्रधानमन्त्रीसमेत रहेका केपी ओली र पुष्पकमल दाहाल नै अध्यक्ष रहेको र केन्द्रीय समिति ४ सय ४१ सदस्यीय आधिकारिक रहेको उल्लेख गरी जवाफ पठाएको थियो।

दाहाल–नेपाल पक्ष आयोगको त्यस्तो निर्णय त्रुटिपूर्ण रहेको र बहुमत सदस्यको सनाखत लिन नचाहेर कुर्तक मात्र गरेको निष्कर्ष निकाल्दै अब राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ मा टेकेरै आधिकारिकता दाबी गर्ने निर्णयमा पुगेको हो। सोमबार आफूपक्षीय केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएर यो पक्षले यस्तो निर्णय लिएको हो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीको आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय बैठकले गरेको हो। उनले भने, ‘पार्टीको विधानअनुसार पार्टीका बैठक गरेर पार्टीको पदाधिकारीको सन्दर्भमा फेरबदल गरिएको निर्णयसहित पार्टीका तर्फबाट जवाफसहितपार्टीको आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय बैठकले लिएको छ।’ (यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ ।)

प्रकाशित मिति:February 2, 2021