दार्चुला तुइन प्रकरण भारतियहरुको मानवता विरोधी अक्षम्य अपराध होः जनअधिकार अभियान नेपाल

  Sampatti News

August 12, 2021

काठमाडौं । जन अधिकार अभियान नेपालले दार्चुला तुइन प्रकरण भारतिय फौजको नेपाली माथिको देखादेखि दादागिरी र नेपाल सरकार जनताप्रति गैरजिम्मेवार बन्नुको परिणाम भएको निष्कर्ष निकालेको छ । बुधबार राजधानीको संवाद डबलीमा स्थलगत अध्ययन प्रतिवेदन सार्बजनिक गर्दै अभियानका अध्यक्ष एकराज भण्डारीले भारतीय सुरक्षाकर्मीले नेपाली नागरिक माथि गरेको गम्भीर, अक्षम्य र मानवता विरोधी अपराध भएकोसमेत बताएका छन् ।

वरिष्ठ अधिवक्तासमेत रहेका भण्डारीले नेपालको सीमा क्षेत्रमा बारम्बार नेपाली नागरिकहरु भारतिय सीमा सुरक्षा बल(एसएसबी)द्वारा लुट्ने, अमानविय व्यवहर मात्रै नभएर हत्यासमेत गर्दा पनि नेपाली शासकहरु त्यसप्रति उदासीन बन्नु दुर्भाग्य भएको बताए । उनले ब्यास गाउँपालिका वडा नं. २ मालघाटमा तुइनबाट खसेर बेपत्ता भएका जयसिंह धामी सम्बन्धी बनेको सरकारी छानविन समितिले सत्य तत्य र न्यायोचित प्रतिवेदन ल्याउन मागसमेत गरेका छन् ।

सो अभियानका सदस्य तथा दार्चुला घटना स्थलगत अध्ययन–अनुगमन टोलीका प्रमुख अधिवक्ता सन्तोस कोइरालाले प्रतिवेदन सार्वजनिक गर्दै भारतिय सुरक्षा कर्मीले जानाजान तुइन काटेर जयसिंह धामीलाई वेपत्ता पारेको प्रत्यक्ष दर्शीले बताएको जानकारी दिए । आफूहरुले पीडितको परिवार, स्थानियवासी तथा जनप्रतिनिधि र सरोकारवाला सबै पक्षहरुसँग छलफल र घटनास्थलमा पुगेरे सो प्रतिवेदन बाहिर ल्याएको बताए । तपाइहरुले सरकारी छानविन समितिको रिपोर्ट भन्दा पहिले किन हताहतार आफ्नो प्रतिवेदन बाहिर ल्याउनुभयो भन्ने पत्रकारहरुको प्रश्नमा जवाफ दिदै भने,“तपाई–हामीले हाम्रो सरकार र नेताहरु चिनेकै छौं, त्यसैले उनिहरुभन्दा पहिले हामी जस्ता अभियान तथा संघसँस्थाले पहिले नै सत्य–तत्थ्य बाहिर ल्याउँदा उसलाई दबाब पुगोस र घटनालाई तोडमोड नगरियोस, त्यसैले पहिले पहिले भन्दा सकेजति चाँडो ल्यायौं, हतारमा होइन ।”

जनअभधिकार अभियान छानबिन अध्ययन टोली २०७८।०४।२० देखि २०७८।०४।२४ सम्म स्थलगत निरिक्षण छानबिन अध्ययन गरेको बताउँदै टोली प्रमुख कोइरालाले दार्चुला जिल्लाको ब्यास गाँउपालिका वडा नम्बर २ घटनास्थल मालघाट, स्थानिय निकाय ब्यास गाँउपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय दार्चुला, सुदुरपश्चिम प्रदेश अन्तरिक मामला तथा कानून मन्त्रालय, प्रदेश उद्धोग बाणिज्य तथा पर्यटन मन्त्रालय, सुदुरपश्चिम प्रदेश कैलाली र भारतको धार्चुला तिकरमघाट समेत पुगी बिस्तृत रुपमा घटनाका बारेमा सोधपुछ छानबिन । पीडित जयसिंह धामीका परिवार, आफन्त, देख्ने सुन्ने, सरोकारवालाहरुसँग प्रत्यक्ष भेट गरी घटना सम्बन्धि सोधपुछ, आवश्यकता अनुसार लिखित, मौखिक, फोटो, अडियो–भिडियो आदि तरिकाहरु अपनाई सो आधारमा यो प्रारम्भिक प्रतिवेदन तयार पारि सार्वजनिक गरिएको बताए ।

स्थानिय र पीडित परिवारले सत्य तत्य विषय बारे जानकारी दिए पनि सराकारी निकायहरु र जनप्रतिनिधीहरुले त्यसबारे भन्न आनाकानी मात्रै नगरेको बरु प्रत्यक्ष दर्शीहरुलाई सत्य तत्थ्य बाहिर ल्यानबाट रोक्न नेपाल प्रहरीले उनिहरुलाई आफ्नो सुरक्षा घेरामा राखेकोसमेत आरोप लगाए ।

व्यास २ स्थित रानीस्थान आधारभुत विद्यालयका प्रअ सुकुन्द्र सिहं धामीले २१ गते विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले भारतिय ज्यादति विरुद्ध आवाज उठाउनु पूर्व सरकारी प्रतिनिधीहरु मौन रहेको र अहिले पनि झारा टार्ने काममा लागेको आरोप लगाएको प्रतिवेदनमा उल्लेख छ । नेकाप दार्चुला जिल्ला सेक्रेटरी भरत मल्ल लगायतले भारतीय तर्फबाट सुनियोजित रुपमा घटाइएको र सो घटना नेपाल र नेपाली माथिको साम्राज्यवादी आतंकको चरम पराकाष्ठा भन्दै समयमै सत्य तथ्य छानबीन गरी दोषी माथि कारवाही होस् भनि मागसमेत गरेको प्रतिवेदनमा उल्लेख छ । पीडितहरुलाई सो पार्टीले ८ हजार रुपैयाँ सहयोगसमेत गरेको तर सरकारी पक्षबाट केही पनि नभएको गुनासो समेत प्रतिवेदनमा उल्लेख छ । मानव अधिकारकर्मी ललित विकसहित स्थानियवासीहरुसमेत स्थलगत निरिक्षण तथा अध्ययनमा जुटेर सो प्रतिवेदन सफल भएको प्रमुख कोइरालाले बताए ।

बुधबार संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा जनअधिकार अभियान नेपालका महासचिब रामकुमार भण्डारी, कोशाध्य दामोदर घिमिरे, केन्द्रीय सदस्य तथा अधिवक्ता कान्तिराम ढुङ्गाना, देवि ढुङगाना, मानव अधिकारकर्मी तथा अधिवक्ता राजु अधिकारी, अधिवक्ता दिवस निरौलाकोसमेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:August 12, 2021