होक्लाबाडी टापुका ८५ परिवार ४८ घण्टादेखि उद्धारको पखाईमा

  Sampatti News

October 21, 2021

गौरीगञ्ज गाउँपालिका–१ को होक्लाबाडी बस्ती चारैतिरबाट कनकाइको बाढीले घेरेपछि टापुमा परिणत भएको छ ।

बाह्य सम्पर्कबाट विच्छेदका अवस्थामा रहेको सो बस्तीका ८५ परिवारलाई हालसम्म उद्धार गर्न नसकिएको पालिकाका अध्यक्ष बाबुराज श्रेष्ठले बताउनुभयो ।

बस्तीमा जाने कज्वे बाढीले भत्काएपछि र सोही क्षेत्रमा रहेको काठको डुङ्गासमेत नदीले बगाएपछि उनीहरूलाई उद्धार गर्न नसकिएको उहाँको भनाइ छ । नदीले बिजुलीको खम्बासमेत बगाएपछि हाल होक्लाबाडी बस्ती अन्धकार भएको छ ।

बस्तीमा आफन्तकामा दसैँको टीका लगाउन विभिन्न स्थानबाट आएका करिब १०० जनासमेत रहेको उहाँले जानकारी दिनुभयो ।

सो क्षेत्रमा सुक्खा खानेकुरासमेत पुर्‍याउन सकिएको छैन । यद्यपि हालसम्म सबै जना सुरक्षित रहेका छन् ।

“चारैतिर कनकाइ नदीले घेरा हालेको छ । उद्धार गर्नसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “अब पानी रह्यो बाढी पनि घट्छ होला । भोलि जसरी पनि उनीहरुको उद्धार गर्न पहल गर्नेछौँ ।”

अध्यक्ष श्रेष्ठले बस्तीमा विशेष गरी सन्थाल, आदिवासी र बाहुन क्षेत्रीको बसोबास रहेको बताउनुभयो ।

झापामा सबैभन्दा बढी डुबानमा परेर विस्थापित हुनेमा पनि गौरीगञ्जकै बासिन्दा छन् ।

वडा नं १ कै धानगाडा, बिर्खेबस्ती, रङ्गियाथान र बालुवाडी र वडा नं २ को भाकुमाडीका गरी करिब २०० परिवार डुबानमा परेका छन् ।

जसमध्ये ७५ परिवारको भने उद्धार गरेर सामुदायिक वन, स्कूल र रेडक्रसको भवनमा राखिएको छ ।

प्रकाशित मिति:October 21, 2021