पूजा गरी खानेकुरा खान दिएर काग र कुकुर तिहार मनाइँदै

  Sampatti News

November 3, 2021

तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

त्यस्तै आज कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ ।  

आज बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी तिथि लाग्छ । बिहानै कागलाई पूजा गरी मीठा खानेकुरा खान दिनुपर्छ । कागलाई विशेषगरी दही भात खुवाइन्छ ।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गर्ने गरिन्छ ।

काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको हो ।

काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ । कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने कात्तिक १८ गते बिहीबार बिहान मनाउनुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

सूर्योदयकालभन्दा अघि चतुर्दशी तिथि परेका दिन यो पर्व मनाइन्छ । बुधबार बिहान अरुणोदयकालभन्दा अघि चतुर्दशी तिथि नपरेकाले बिहीबार मनाउनुपर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

प्रकाशित मिति:November 3, 2021