भारतीय सेनाको मानार्थ महारथी दर्ज्यानी चिह्नबाट सुशोभित हुन् प्रधानसेनापति शर्मा दिल्ली प्रस्थान

  Sampatti News

November 9, 2021

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा चार दिने औपचारिक भ्रमणका क्रममा दिल्ली प्रस्थान गरेका छन् ।

भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा शर्मा मानार्थ प्रधान सेनापतिको पदवी ग्रहण गर्न त्यसतर्फ लागेका हुन् ।

शर्माको भ्रमणमा श्रीमती सुनिता शर्मासहित ९ सदस्यीय भ्रमण टोली रहेको छ ।

नेपाली सेनाको मध्य एयर बेश, गौचरमा शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए ।

भारत प्रस्थान गर्नुपूर्व प्रधान सेनापति महारथी शर्मालाई जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । उक्त औपचारिक विदाई कार्यक्रममा नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्रा र अन्य राष्ट्रका सैनिक सहचरीहरुको पनि उपस्थिति थियो ।

प्रधानसेनापतिको नियुक्तिपछिको पहिलो विदेश भ्रमणको रुपमा हुन लागेको यस भ्रमणका क्रममा शर्मालाई मंसिर २४ गते भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट सुशोभन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

शर्माले दिल्लीमा आजै भारतीय रक्षा सचिव अजय कुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, भारतीय सेनाध्यक्ष जनरल एमएम नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भीआर चौधरीसँग भेटघाट गर्नेछन् ।

प्रधानसेनापति महारथी शर्माको भारत भ्रमणको अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ ।

प्रकाशित मिति:November 9, 2021