प्रधानन्यायाधीशकै निर्देशनमा कानुन व्यवसायीमाथि आक्रमण

Nepal Cover
२५ कार्तिक २०७८, बिहीबार
image

प्रधानन्यायाधीशकै निर्देशनमा कानुन व्यवसायीमाथि आक्रमण

काठमाडौँ-नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशकै निर्देशनमा कानुन व्यवसायीमाथि आक्रमण भएको बताएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै बार एशोसिएसनले यस्तो बताएको हो ।

आज सर्वोच्च परिसरमा शान्तिपूर्ण आन्दोलनमा रहेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य, उपाध्यक्ष एवं अधिवक्ता रक्षा वस्याल, महासचिव एवं अधिवक्ता लीलामणि पौडेल, पूर्व केन्द्रीय सदस्य रमणकुमार कर्ण, अधिवक्ता मुकुन्द भट्टराई लगायतका कानुन व्यवसायी घाइते भएका थिए ।

‘प्रधानन्यायाधीशले विभिन्न विचौलिया, भिजिलान्तेहरुको प्रयोग गरी २०४६ सालमा पञ्चायतको अन्त हुँदा ताका प्रतिकार समिति गठन गरी लोकतन्त्रप्रेमी, न्यायप्रेमी जनता विरुद्ध प्रयोग गरेकै शैलीमा विभिन्न हतकण्डाहरु गरिआएको र आजको शान्तिपूर्ण विरोध सभामा प्रधानन्यायाधीशको ठाडो आदेशमा हतियार सहितका सुरक्षाकर्मीहरु अदालतभित्रै प्रवेश गराई शान्तिपूर्ण कार्यक्रममा रहेका कानून व्यवसायी माथि अत्याधिक बल प्रयोग र हातपात गरेको’ बार एशोसिएशनले ठहर गरेको छ ।

‘विज्ञप्ति जारी गर्दै बार एशोसिएसनले प्रधानन्यायाधीशको यस्तो हर्कतको नेपाल बार एशोसिएशनले घोर निन्दा र भर्त्सना गर्दछ भनिएको छ । एशोसिएसनले ‘यस्तो हर्कत भविष्यमा नदोहोर्याउन चेतावनीसमेत दिएको छ ।

आफ्नै अदालत र कानून व्यवसायीबाट मात्र नभएर आम नागरिकबाटै बहिष्कृत प्रधानन्यायाधीशको विरोधमा नेपाल बार एशोसिएशन र आवद्ध सम्पूर्ण एकाईहरुले भविष्यमा थप कठोर कदम चाल्न बाध्य हुने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ ।

बार एशोसिएसनले शुक्रबार सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्धामा बहस पैरवी नगर्ने, बेन्च बहिष्कार गर्ने र न्यायाधीशलाई समेत प्रधानन्यायाधीशले तोक्ने वा तोकेका इजलासमा नबस्न अपिल गरेको छ ।