चोरबाटोबाट सर्वोच्च अदालत छिरे जबरा

  Sampatti News

November 14, 2021

चोरबाटोबाट सर्वोच्च अदालत छिरे जबरा

काठमाडौँ-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेपाल बार एसोसिएसनका वकिलहरुको अवरोधका बीच चोरबाटोबाट सर्वोच्च अदालत छिरेका छन् ।

उनी आइतबार नेपाल बार एसोसिएसनका वकिलहरूले सर्वोच्चको गेटमा धर्ना दिँदै गर्दा बिहान १० बजेर ४४ मिनेटमा चोरबाटोबाट सर्वोच्च छिरेका हुन् ।

बार एसोसिएसनका वकिलहरूले उनलाई प्रवेश गर्न नदिने नीति अख्तियार गरेपनि उनी अदालत प्रवेश गरेका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका बहुमत न्यायाधीश, सर्वोच्च बार र नेपाल बार एसोसिएसन तीन सातादेखि आन्दोलनमा उत्रिँदै आएका छन् ।

चोलेन्द्र सर्वोच्च प्रवेश गरिसकेपछि पनि वकिलहरुले पूर्वनिर्धारित कार्यक्रमअनुसार अदालतमा धर्ना दिने कार्यक्रम जारी राखेका छन् ।

नेपाल बार एसोसिएन अन्तर्गतका वकिलहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरी सर्वोच्च अदालत प्रवेशमा अवरोधका लागि प्रदर्शन गरेका छन् ।

तर प्रधानन्यायाधीश राणा भने अतिरिक्त गेटबाट अदालत प्रवेश गरे ।

त्यसपछि वकिलहरु पनि सर्वोच्च परिसरमै प्रवेश गरेर नाराबानी गरेका छन् ।

यस्तै न्यायाधीशहरुले इजलास नै बहिष्कार गर्दा न्याय सेवा प्रभावित भएको र त्यसले जनताको अधिकार कुण्ठित भएको भन्दै सेवा सुचारु हुनु पर्ने मागसहित पनि प्रदर्शन भएको छ ।

प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

सर्वोच्च अदालत क्षेत्रमा प्रधानन्यायाधीशको विरोध तथा न्याय सेवा सुचारु हुनु पर्ने पक्षमा भएको प्रदर्शनले तनावको अवस्था सिर्जना भएको छ ।

बारले न्यायालय सुधारका लागि प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ।

कार्यपालिकामा भाग खोजेको, भ्रष्टाचारलाई सहयोग गरेकोसहितका अभियोग प्रधानन्यायाधीश राणामाथि लगाइएको छ।

चोरबाटोबाट सर्वोच्च अदालत छिरे जबरा

प्रकाशित मिति:November 14, 2021