सर्वोच्च अदालतमा तोकियो सबैखाले मुद्दामा पेसी

  Sampatti News

November 15, 2021

सर्वोच्च अदालतमा तोकियो सबैखाले मुद्दामा पेसी

काठमाडौँ-प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज पनि बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।

दश वटा इजलासमा पेसी तोक्नुभएका उहाँले आफ्ना लागि भने पूर्ण एकल इजलासमा पेसी तोक्नुभएको छ । आठ वटा संयुक्त र दुई वटा एकल इजलासमा पेसी तोकिए पनि मुद्दाको सुनुवाइ प्रारम्भ भने भएको छैन ।

यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्दै आउनुभएको छ ।

यही कारण सर्वोच्च अदालतमा यही कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन नसके पनि बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ हुँदै आएको छ ।

प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको छ ।

अदालतमा बेञ्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन ।

बेञ्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।

आज प्रधानन्यायाधीशले आफ्नो राजीनामा मागेर प्रदर्शनमा उत्रिएका नेपाल बार एशोसियसनका पदाधिकारी र कानुन व्यवसायीलाई विग्रहको बाटो छोडेर संवादको मार्ग रोज्न एक प्रेस विज्ञप्ति जारी गर्दै आह्वान गरेका हुन् ।

प्रधानन्यायाधीश जबराले न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनसहित विभिन्न समयमा न्यायपालिका स्वयंले गठन गरेका आयोगका प्रतिवेदनहरु कार्यान्वयन गर्ने सन्दर्भमा खुला हृदयका साथ अग्रसरता लिन आफू तयार रहेको पनि प्रस्ट पारेका छन् ।

उनले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि आह्वान गरेका छन् ।

उनले जनताले विश्वासको शीरमा राख्दै आएको न्यायपालिकाको गरिमा र सम्मानलाई जोगाउनु न्यायपालिकाभित्रका सबै अवयवहरुको साझा दायित्व रहेको पनि प्रस्ट पारेका छन् ।

उनले आफूमाथि एकपक्षीय ढंगले निरन्तर रुपमा तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइएको भन्दै दुःख व्यक्त समेत गरेका छन्।

प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको छ ।

सर्वोच्च अदालतमा तोकियो सबैखाले मुद्दामा पेसी

प्रकाशित मिति:November 15, 2021