जबराको वार्ता आह्वान बार एसोसिएसनद्वारा ईन्कार

  Sampatti News

November 15, 2021

जबराको वार्ता आह्वान बार एसोसिएसनद्वारा ईन्कार

काठमाडौँ-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिज्ञप्ती मार्फत गरेको वार्ताको आह्वान नेपाल बार एसोसिएसनले ईन्कार गरेको छ ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो ।

सोमबार प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बसेको बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो ।

बारका उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रधानन्यायाधीशको राजीनामालाई नै आफूहरुले बटमलाइन बनाएकाले तत्काल वार्तामा नबस्ने निर्णय भएको छ ।

वर्तमान प्रधानन्यायाधीशको कारण नै अदालतमा भ्रष्टाचार र अनियमितता मौलाएको भन्दै न्यायपालिका शुद्धीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा नै एकमात्र विकल्प भएको बारको ठहर छ ।

बारको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा धर्नामा बसिरहेका बेला राणाको विज्ञप्ति आएको थियो ।

‘प्रधानन्यायाधीशज्यू, तपाईंको विज्ञप्ति हामीले पढ्यौँ, त्यसको जवाफ यही मञ्चबाट दिन्छौँ –तपाईंसँग वार्ता गरेर न्यायालयको विकृति विसंगतिमा सुधार हुँदैन, त्यसैले हामी तपाईंसँग कुनै किसिमको वार्ता गर्न तयार छैनौँ आजै राजीनामा दिएर निकास दिनुस्’, नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने ।

अधिवक्ता सुनिल पोखरेलले बारको आन्दोलन मार्गप्रशस्त हुँदै राजीनामासम्म पुगेको बताए ।

उनले भने, ‘हाम्रो भद्र अनुरोध छ, मार्ग प्रशस्त गर्नुस्, न्यायपालिकामा थप क्षति हुन नदिनुस् ।’

सरकार विस्तारमा भाग खोजेको र न्यायालय सुधारमा चासो नदिएको भन्दै कानुन व्यवसायीहरु अहिले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनमा छन्।

विज्ञप्तिमा प्रधानन्यायाधीश जबराले न्यायपालिका सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएका सुझावहरु कार्यान्वयन गर्नका लागि आफू तयार रहेको पनि उल्लेख गरेका छन्।

विज्ञप्ति जारी गर्दै उनले वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरुको सम्बोधनको उपयुक्त विकल्प संवाद नै भएको प्रस्ट पारेका हुन् ।

उनले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि आह्वान गरेका थिए।

जबराको वार्ता आह्वान बार एसोसिएसनद्वारा ईन्कार

प्रकाशित मिति:November 15, 2021