कांग्रेसको जिल्ला सभापतिको उम्मेदवार शुल्क रु ५० हजार

  Sampatti News

November 18, 2021

कांग्रेसको जिल्ला सभापतिको उम्मेदवार शुल्क रु ५० हजार

काठमाडौँ-नेपाली कांग्रेसको आगामी जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेका लागि रु ५० हजार शुल्क तोकिएको छ ।

नेपाली कांग्रेस पर्वतको बुधबार सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले उक्त शुल्क निर्धारण गरेको हो ।

केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिको उम्मेदवारका लागि रु १० हजार दर्ता शुल्क निर्धारण गरेको छ ।

जिल्ला उपसभापति, सचिव र सहसचिवका लागि रु २५ हजार शुल्क तोकिएको छ ।

जिल्ला सभापतिका लागि रु एक लाख ५० हजार शुल्क तोक्नुपर्ने प्रस्ताव आए पनि विरोध भएपछि रु ५० हजार तोकिएको हो ।

महाधिवेशन प्रतिनिधिका लागि पनि रु २५ हजार शुल्क तोकिएको छ ।

जिल्ला कार्यसमिति सदस्यका लागि रु १० हजार शुल्क तोकिएको छ ।

यस्तै क्षेत्रीय सभापतिका लागि रु १५ हजार तोकिएको छ भने प्रदेश प्रतिनिधिका लागि रु १० हजार तोकिएको छ ।

कांग्रेसका पर्वत जिल्ला सभापति खिमप्रसाद भुसालले यो शुल्क ऐच्छिक भएको बताउनुभयो ।

जिल्ला तहको अधिवेशन सम्पन्न गर्न खर्च व्यवस्थापन गर्न उमेदवारबाटै आर्थिक सहयोग जुटाउने निर्णय भएको भुसालले बताउनुभयो ।

दलित, महिला, अल्पसङ्ख्यक र पिछडिएको क्षेत्रका उमेदवारलाई भने तिर्नुपर्छ भन्ने बाध्यात्मक अवस्था नभएको उहाँले बताउनुभयो ।

केन्द्रीय निर्वाचन निर्देशिकाले भने जिल्ला कार्यसमिति सभापति निर्वाचनलाई रु १० हजार, उपसभापति र सचिवका लागि रु सात हजार, सहसचिवका लागि रु छ हजार र सदस्यका लागि रु तीन हजार शुल्क तोकेको छ ।

यस्तै प्रदेश सभा क्षेत्रीय कार्यसमितिका लागि सभापतिलाई रु पाँच हजार, उपसभापति र सचिवलाई रु तीन हजार, सहसचिवलाई रु दुई हजार ५०० र सदस्यलाई रु दुई हजार शुल्क निर्धारण गरिएको छ ।

कांग्रेसको जिल्ला सभापतिको उम्मेदवार शुल्क रु ५० हजार

प्रकाशित मिति:November 18, 2021