जबराले गरेको फैसलाको अध्ययन र संकलन गर्दै बार

  Sampatti News

November 22, 2021

जबराले गरेको फैसलाको अध्ययन र संकलन गर्दै बार

काठमाडौँ–प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पैसा लिएर गरेको फैसलाको सूचना भए उपलब्ध गराउन नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानून व्यवसायी र सेवाग्राहीहरुलाई आग्रह गरेका छन् ।

सोमबार सर्वोच्च अदालत परिसरमा बारले दिएको धर्ना कार्यक्रममा अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले पैसा खाएर गरेको फैसलाको सूचना भए नेपाल बारमा उपलब्ध गराउन कानून व्यवसायी र सेवाग्राहीहरुलाई आग्रह गरेका हुन् ।

उनले प्रधानन्यायाधीश जबराले गरेको फैसलाहरुले बिकृति, बिसंगति, बिचौलिया र भ्रष्टाचार भइरहेको आरोप लगाउँदै नेपाल बारले पनि प्रधानन्यायधीशले गरेको फैसलाको अध्ययन र संकलन गरिरहेको बताए ।

प्रधानन्यायाधीश जबराको राजीनामा पछि पनि सम्पत्ति विवरण संकलन गरिने र छानविन हुने उनले बताए ।

उनले भने, ‘चोलेन्द्र शमशेर जबराले ऊसँग जोडिएका विकृतिका विवादित फैसलाहरू नेपाल बार एसोसिएसनले संकलन गर्नका लागि आह्वान गरेको छ ।’

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशले पैसा लिएर गरेको फैसलालाई राखेर जनताको बीचमा पेश गरिने बताए ।

उनले न्यायालयमा बिकृति र विसंगति भइरहेको भन्दै कानुन व्यवसायीहरु आन्दोलनमा उत्रिएको दुई हप्ता भइसक्दा समेत राजनीतिक दल कानमा तेल र मुखमा बुझो हालेर बसेको आरोप लगाए ।

अध्यक्ष श्रेष्ठले राज्यको महत्वपूर्ण अंगमा आएको समस्याका बारेमा चुप लागेर बस्ने भए थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिए ।

अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले तीन वर्ष न्यायपालिका र सेवाग्राहीमाथि अन्याय गरेको आरोप लगाउँदै अब अन्याय हुन नदिने बताए ।

जबराले गरेको फैसलाको अध्ययन र संकलन गर्दै बार

प्रकाशित मिति:November 22, 2021