सचिब अर्यालको अध्यक्षतामा नेपाल-कतार बैठक: श्रम सम्झौता पुनरावलोकनमा सहमति

  Sampatti News

December 3, 2021

सचिब अर्यालको अध्यक्षतामा नेपाल-कतार बैठक: श्रम सम्झौता पुनरावलोकनमा सहमति

काठमाडौं-कतार र नेपालबिचको श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ ।

काठमाडौंमा शुक्रबार भएको नेपाल-कतार संयुक्त समितिको चौंथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने लगायतका बिषयमा सहमति भएको हो ।

हालै सामान्य प्रशासन मन्त्रालयबाट श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएर गएका सचिब एक नारायण अर्यालको अध्यक्षतामा बसेको नेपाल-कतार संयुक्त समितिको चौंथो बैठकले श्रम सम्झौता पुनरावलोकन गर्ने लगायतका बिषयमा सहमति गर्न सफल भएको हो ।

सचिब अर्यालको कार्यक्षमतालाई तारिफ गर्दै सामान्य प्रशासन मन्त्रालयबाट बिदाईको क्रममा मन्त्रीले छोरी अन्माए जस्तो भएको प्रतिक्रिया दिएका थिए ।

नेपालको शर्त पूरा गर्न कतार तयार

नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुनःएकीकरणका लागि नेपालले गर्ने प्रस्तावअनुसार अघि बढ्न कतारी पक्षले सहमति जनाएको छ ।

साथै कतार भिसा सेन्टरलाई थप व्यवस्थित गर्न पनि कतारी पक्ष सहमत जनाएको छ ।

नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न पनि सहमति जनाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

घरेलु श्रममा लगाएको प्रतिबन्ध हटाइदिन कतारको टोलीले आग्रह गरेपछि उक्त विषयमा निर्णय गर्न दुईपक्षीय संयुक्त समिति गंठन गर्ने र त्यसको सुझावलाई श्रम सम्झौता पुनरावलोकनको क्रममा समेट्ने सहमति भएको छ ।

कतारले घरेलु श्रमिकलाई लैजान जोड दिएपछि यसलाई सही ढंगले सम्बोधन गर्न मन्त्री श्रेष्ठले सरोकारवलाहरुसँग पनि छलफल गरेको थियो ।

यसअघि संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले घरेलु श्रमिक लैजाने देशले ७ वटा शर्त पूरा गरे मात्रै अनुमति दिन सरकारलाई निर्देशन दिएको थियो ।

कतारको उच्चस्तरीय टोलीले नेपालको शर्त पूरा गर्न तयार रहेको प्रतिकृया दिएको छ ।

नेपाल-कतार संयुक्त समितिको चौथो बैठकमा नेपाली टोलीको नेतृत्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव बीनु बज्राचार्यले नेतृत्व गरेकी थिइन् ।

नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्रालयका उपसचिव पुष्पराज भट्टराई र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा थानेश्वर भुषाल थिए ।

संयुक्त समितिको चौंथो बैठकको अध्यक्षता गर्नुहुँदै मन्त्रालयका सचिव एकनारायण अर्यालले नेपालको तर्फबाट छलफलका बिषयलाई कतारी पक्षसमक्ष प्रस्तुत गरेका थिए ।

त्यस्तै कतारको श्रम मन्त्रालयका सचिव मोहम्मद हसन अल लवाद्लीले नेतृत्व गर्नुभएको टोलीमा अन्तर्राष्ट्रिय समन्वय विभागका प्रमुख हमाद अलि अफिफा सहित गृह र श्रम मन्त्रालयका उच्च अधिकारी सहभागी थिए ।

श्रम आप्रवासनलाई व्यवस्थित र सुरक्षित गर्न नेपाल र कतारबिच सन् २००५ मा श्रम सम्झौता भएको थियो ।

सचिब अर्यालको अध्यक्षतामा नेपाल-कतार बैठक: श्रम सम्झौता पुनरावलोकनमा सहमति

सम्बन्धित समाचार

सचिब अर्याललाई बिदाई गर्दा मन्त्रीलाई छोरी अन्माए जस्तो भो

प्रकाशित मिति:December 3, 2021