December 25, 2021
चिसो अझै बढ्नसक्ने: सतर्कता अपनाउन अनुरोध
पछिल्ला दिनमा राजधानी काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढिरहेको छ ।
दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औँल्याएका छन् ।
गत एकसातामा न्यूनतम तापक्रम घटे पनि घाम लागेकाले तुलनात्मकरुपमा कम चिसो महशुस हुँदा दुई दिनयता राजधानीसहित देशभर बढी चिसो महशुस गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाको विवरणमा एकसाताको अवधिमा न्यूनतम दुईदेखि चार डिग्रि र अधिकतम तापक्रम १६, १८ तथा २० हाराहारी थियो ।
आज काठमाडौँको न्यूनतम चार दशमलव चार र अधिकतम १८ डिग्रि सेल्सियस रहेको छ ।
अबका दिनमा मौसम फेरबदल भइरहने छ । अझै चिसो बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
“अबका दिनमा मौसम फेरबदल भइरहन्छ, हल्का वर्षा र हिमपातको सम्भावना रहन्छ”, उहाँले भन्नुभयो, “अधिकतम तापक्रम एक÷दुई डिग्रि सेल्सियस बढे पनि न्यूनतम तापक्रम घट्ने र बदलीसँगै घाम कमजोर हुने हुनाले चिसो क्रमशः बढ्ने देखिन्छ, तापक्रम माइनस पुग्छ पुग्दैन अहिले भनिहाल्ने अवस्था छैन” अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । तथापी पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसमविद् कँडेलको भनाइ छ ।
उहाँका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
उच्च पहाडी भेगमा हल्का हिमपात र एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्ने गरेको छ ।
महाशाखाको विवरणमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ ।
प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
यस्तै सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।
देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
महाशाखाले तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु तथा कुहिरो लागुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा-सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।
चिसो अझै बढ्नसक्ने: सतर्कता अपनाउन अनुरोध
प्रकाशित मिति:December 25, 2021
November 23, 2024