पक्राउ पुर्जी जारी गरिसकेको अबस्थामा सचिव बस्न्यात सम्पर्कविहीन

  Sampatti News

December 27, 2021

पक्राउ पुर्जी जारी गरिसकेको अबस्थामा सचिव बस्न्यात सम्पर्कविहीन

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यात ‘सम्पर्कविहीन’ भएका छन् ।

ललिता निवास जग्गा अनियमितता प्रकरणमा प्रहरी तथा सीआईबीले अनुसन्धान तथा छानविन अगाडी बढेलगत्तै पुर्व सचिव बस्न्यात सम्पर्कविहीन भएका हुन् ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनामा मुख्य योजनाकार रामकुमार सुवेदी पक्राउ परे लगतै सचिव बस्न्यात स्वास्थ्य उपचारको बाहनामा भारत गएको खबर प्राप्त भएको सीआईबी स्रोतले बताएको छ ।

जिल्ला अदालत काठमाडौंले उनी विरुद्ध पक्राउ अनुमतिपत्र जारी गरिसकेको अबस्थामा सचिव बस्न्यात एकाएक सम्पर्कविहीन भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा भूमिसुधार तथा व्यवस्था मन्त्रालयको क्षेत्राधिकारमा पर्ने मोही व्यवस्थापनसम्बन्धी प्रस्ताव आफैंले मन्त्रिपरिषदमा लगेको आरोप छ ।

बस्न्यातले तयार पारेको मन्त्रिपरिषदमा लैजाने प्रस्ताव सदर गरेपछि ललिता निवास प्रकरणमा तत्कालिन उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारमाथि समेत भ्रष्टाचार मुद्दा लागेको छ ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा २२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्न्यातसहित ११० जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले त्यतिबेला बस्न्यातमाथि ९ करोड ६५ लाख रुपैयाँ मूल्यांकन भएको जग्गा अनियमितता गरेको आरोप लगाएको थियो ।

बस्न्यात सचिव हुँदा ललिता निवासको सार्वजनिक, प्रर्ती तथा राजकुलोको जग्गा नक्कली मोहीलाई वितरण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको आरोप छ ।

विशेष अदालतमा गत मंसिरमा भ्रष्टाचार मुद्दाको तारिख लिने क्रममा हाजिर भएका उनी करिव पाँच महिना थुनामा परेका थिए ।

विशेष अदालतले पुर्पक्षका क्रममा बस्न्यातलाई थुनामा राख्नु भनी आदेश दिएपछि उनी डिल्लीबजार कारागारमा बन्दीको रुपमा रहे ।

पछि कोरोना संक्रमण फैलिएर अस्पताल भर्ना भएपछि उनले बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

सर्वोच्च अदालतले २४ बैशाख २०७८ मा बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी थुनामुक्त भएका थिए ।

पक्राउ पुर्जी जारी गरिसकेको अबस्थामा सचिव बस्न्यात सम्पर्कविहीन

प्रकाशित मिति:December 27, 2021