प्रहरी र सीके राउत समुहबीच झडप: १३ जना घाइते

  Sampatti News

January 2, 2022

प्रहरी र सीके राउत समुहबीच झडप: १३ जना घाइते

काठमाडौं-प्रहरी र सीके राउत समुहबीच झडप भएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गरी बसेका जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।

झडपमा ८ जना सुरक्षाकर्मी सहित १३ जना घाईते भएको प्रहरीले जनाएको छ ।

सडक खुलाउने क्रममा आन्दोलनकारीले सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि झडपको स्थिती श्रृजना भएको प्रहरीले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरको गोलीसमेत चलाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक वसन्त रजौरेले जानकारी दिएका छन्।

उनका अनुसार नेपाल प्रहरीका सात र सशस्त्र प्रहरीका एक गरेर आठ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

प्रहरीले ११ राउण्ड रबरको गोली र १६ सेल अश्रुग्यास प्रहार गरेको छ ।

सम्झाइबुझाइ गर्दा नमानेर उल्टै सुरक्षाकर्मीमाथि ढुंगामुढासहित आक्रमण गरेपछि नियन्त्रणमा लिन रबर गोली र अश्रुग्याँस प्रहार गरिएको रजौरेले जानकारी दिए।

घाइते भएका जनमत पार्टीका कार्यकर्तालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको छ।

किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै जनमत पार्टीले गत पुस १५ गतेदेखि तराइका जिल्लामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्नुका साथै प्रदर्शन गर्दै आएको छ।

प्रहरी र सीके राउत समुहबीच झडप: १३ जना घाइते

प्रकाशित मिति:January 2, 2022