उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी मनग्ये आम्दानी

  Sampatti News

January 8, 2022

बेलौरी-उखु खेतीमा आधुनिक प्रविधि प्रयोग गरी बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान असारेराम वडायकले मनग्ये आम्दानी गर्दै आउनुभएको छ ।

विगत पाँच वर्षदेखि निरन्तर उखुको उत्पादनमा लाग्नुभएका उहाँले वार्षिक रु २४ लाख आम्दानी गर्दै आउनुभएको हो ।

“प्रविधिको प्रयोगमा जोड दिइएपछि प्रतिवर्ष रु दुई लाखदेखि रु तीन लाखका दरले आम्दानी बढदै गएको छ”

वडायकले भन्नुभयो, “इन्टरनेटको माध्यमबाट विश्वमा उखु खेतीका लागि भएका नौला प्रयोगबारे अध्ययन गरी उखु खेतीलाई अगाडि बढाउँदै आएको छु ।”

छ बिघा जग्गामा प्रतिबिघा दुई हजार क्वीन्टलका दरले उखु उत्पादन गर्दै आउनुभएका उहाँ भारतको महाराष्ट्रका उखु उत्पादक किसानले सामाजिक सञ्जाल फेसवुकमा बनाएको समूहमा समेत जोडिनु भएको छ ।

रोप्नका लागि बेर्ना प्रविधि

भारतीय किसानले उखु उत्पादनका लागि जुन विधि अपनाउछन् त्यही विधि यहाँ लागु गर्दै आएको वडायकले बताउनुभयो ।

“उखु रोप्नका लागि बेर्ना प्रविधि(सिंगल वर्ड) अपनाएको छु” उहाँले भन्नुभयो,“परम्परागत तरिकाले उखु रोप्दा ८० क्वीन्टल बढी बीउ लाग्ने ठाउमा बेर्ना प्रविधि अपनाउदा १० कुण्टल बीउ मात्रै लाग्ने गरेको छ ।”

वडायकले उखु रोप्नका लागि ट्रयाक्टरमार्फत ट्रेन्च बनाई घरमै तयार गरिएको उखुको बेर्ना उपकरणकोे सहायताले रोप्ने गर्नु भएको छ ।

गोडमेल, पात काटने, सिँचाई गर्ने, मल राख्ने बिषादी छर्कने कार्यसमेत उपकरणकोे सहायताले गर्दै आउनुभएको छ ।

भारतबाट ल्याइएका बढी उत्पादन दिने विभिन्न जातका उखुको बीउको प्रयोग गर्दै आउनु भएको छ ।

उहाँले पुराना उखुका जातको तुलनामा भारतीय वैज्ञानिकले तयार गरेका उखुका जात बढी अग्लो हुने र तौल समेत बढी हुनाका साथै आम्दानीसमेत त्यही अनुसारको हुने गरेको बताउनुभयो ।

“यस वर्ष उखुको उत्पादन राम्रो रहेकाले उत्पादन गत वर्षको तुलनामा दोव्वरले बढी हुन्छ ।

आम्दानीसमेत त्यही अनुरुप हुन्छ,” वडायकले भन्नुभयो,‘‘उखु उत्पादनमा लागेका किसानलाई सरकाले अनुदान र विश्वमा भैरहेका उखु खेती सम्बन्धी नयाँ तरिकाहरु सिकाउन जरुरी छ ।

नयाँ प्रविधि किसानलाई सिकाएर उत्पादन बढाउन सकेमात्रै उखुमा आत्मनिर्भर बन्न सक्छौं ।”

किसानले आधा उखु मिलमा बेचेपछि मात्रै मूल्य निर्धारण गर्नाले किसानलाई नभएर चिनी मिललाई फाइदा पुग्ने उहाँको भनाइ थियो ।

वडायक जिल्लाकै सफल उखु किसानका रुपमा परिचित हुनुहुन्छ ।

प्रकाशित मिति:January 8, 2022