April 21, 2022
काठमाडौं – बुद्धशान्ति गाउँपालिका–८ मा दैनिकजसो चितुवाले पशु चौपाया मार्न थालेपछि स्थानीयवासी त्रसित हुन थालेका छन् ।
दिनभर आदर्श सामुदायिक वनभित्र बस्ने र साँझ परेपछि गाउँ पसेर स्थानीयवासीको सँगुर, बाख्रा, गाईलगायत मार्न थालेपछि स्थानीय त्रसित हुन थालेका हुन् ।
आदर्श सामुदायिक वन उपभोक्ता समितिका सदस्य सीताराम बास्तोलाका अनुसार दुई दिनदेखि चितुवाले गाउँ पसेर आतङ्क मच्चाउन थालेको छे । उहाँले बुधबार राति भोजराज बास्तोलाको बाख्रा मारेको, दीपक बास्तोलाको बाख्रा र देवीप्रसाद अधिकारीको गाईको बाछो घाइते बनाएको बताउनुभयो ।
चितुवाले अञ्जु प्रधानको दुई सुँगुर र पदमबहादुर एक्तेनको एउटा सुँगुर मारेको छ । “एकातिर हात्तीको पीर छ, अर्कोतिर चितुवाको पनि थपियो ”, उहाँले भन्नुभयो, “ज्यान जोगाउनै गाह्रो भयो ।” चितुवाले गाउँमा दुःख दिन थालेपछि डिजिभन वन कार्यालय र प्रहरी प्रशासनलाई गुहार्दासमेत कोही नआएको उहाँको दुःखेसो छ ।
डिभिजन वन कार्यालयका वन अधिकृत ओम भट्टराईले चितुवा नियन्त्रणमा लिन खोर बनाउँदै गरेको बताउनुभयो । उहाँले स्थानीयले जानकारी गराएलगत्तै खोरको व्यवस्था गर्न थालेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “तत्काल खोरको व्यवस्था गरेर नियन्त्रणमा लिन्छौँ ।” हाल मेचीनगर र बुद्धशान्ति गाउँपालिकाका केही सामुदायिक वनमा कोशी टप्पु वन्यजन्तु आरक्ष केन्द्रले स्वचालित क्यामेरा जडान गरेर हात्ती, चितुवा, बाघलगायतका जङ्गली जनावरको निरीक्षण गरिरहेको छ ।
लामो समयदेखि सो क्षेत्रमा जङ्गली हात्तीले समेत दुःख दिइरहेको छ । प्रायः बालीनाली पाकेको मौका छोपर गाउँ पस्ने हात्तीले गए राति मात्र स्थानीय कुलप्रसाद पौडेलको पाक्न लागेको मकै खाइदिएको छ ।
उहाँको पाँच कट्ठामा लगाइएको मकै खाइदिएको छ भने सावित्रा दङ्गालको मकै र बर्खे धान कुल्चिएर क्षति पु¥याएको आदर्श सामुदायिक वन उपभोक्ता समितिका सदस्य सीताराम बास्तोलले जानकारी दिनुभयो ।
प्रकाशित मिति:April 21, 2022
November 24, 2024